आजदेखि जनकपुरधाममा हुन लागेको प्रथम प्रदेश अधिवेशनको सबै तयारी पूरा

धनुषा, २४ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेशको भएको छ । आज अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्नुहुनेछ ।

उहाँले मधेस प्रदेशको पार्टी कार्यालय ‘मिथिला भवन’ को पनि शिलान्यास गर्नुहने जनाइएको छ । मधेस प्रदेशका इन्चार्ज एवम् केन्द्रीय सचिव योगेश भट्टराईले आठ जिल्लाका ३६ वटै पालिका, विभिन्न जनवर्गीय सङ्गठन सहितका निकायबाट गरेर एक हजार २७ प्रतिनिधि अधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन सत्रमा सात हजार एमाले नेता कार्यकर्ताको सहभागिता रहने र अधिवेशनको समुचित व्यवस्थापनका लागि एक सय पाँचजना स्वयम्सेवक परिचालन गरिने जानकारी दिँदै उहाँले अधिवेशनको सुरक्षा, आवास, भोजन, सांस्कृतिक कार्यक्रम तथा स्वयम्सेवक परिचालन सहितको सम्पूर्ण कार्य पूरा भएको बताउनुभयो ।

प्रदेश अधिवेशन तयारी समितिका संयोजकसमेत रहनुभएका प्रदेश अध्यक्ष रामअवतार यादवका अनुसार जनकपुरधाम उपमहानगरपालिका–४ तिरहुतियागाछीस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने उद्घाटन सत्रका लागि सबै तयारी पूरा भएको छ । प्रदेश अधिवेशनमा लाग्ने खर्च आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको र त्यसका लागि प्रत्येक प्रतिनिधिबाट रु दुई हजार प्रवेश शुल्क तथा एमालेका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूबाट रु १०÷१० हजार सहयोग लिइने अध्यक्ष यादवले बताउनुभयो ।