पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित

वेदकोट (कञ्चनपुर)- कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन् । पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन् ।

सोमबारको वर्षाले काटेको धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी किसान अनिला चौधरीले बताउनुभयो । “सात÷आठ कट्ठा खेतको काटेको धान भिजाएको छ, एक्कासी पानी आउँदा खेती भित्र्याउनै पाएनौँ”, उहाँले भन्नुभयो, “भिजेको धान खेतमै छ, घाम पनि लागेको छैन ।”

गाउँमै अढाइ बिघा जमिन अधियाँमा लिएर उहाँले खेती गर्दै आउनुभएको छ । अधियाँको जमिनमा उब्जाएको खेतीले वर्षभरि खाने चौधरी पाकेको धान खेतमै भिजेपछि चिन्तित छन् ।“थोरै धान कुन्युँ बनाएर राखेका थियौँ, त्रिपालले छोपेर त्यो धान जोगिएको छ”, उहाँले भन्नुभयो, “अधियाँ बनाएर खानुपर्छ, वर्षाले पाकेको धान खेतमै भिजाएपछि समस्या थपिएको छ ।”

काटेको धान खेतमै भिजेको बताउँदै उहाँले अझै वर्षा भए धानबालीमा बढी क्षति पुग्ने बताउनुभयो । गाउँमा ठाउँठाउँमा वर्षाले धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले बताउनुभयो । “धेरैले धान भित्र्याउन सकेका छैनन्, काटेर धान चुट्नमा किसान व्यस्त छन्”, उहाँले भन्नुभयो, “यस्तो समयमा भएको वर्षाले किसानलाई दुःखित बनाएको छ ।”
उहाँले पिपलाडीमा पाँच बिघा जमिनमा धान, तरकारीलगायतको खेती गर्दै आउनुभएको छ । यसवर्ष धान उत्पादन पनि घटेको चौधरीको भनाइ छ ।

“विगतको वर्षमा दुई सय बोरासम्म धान उत्पादन हुन्थ्यो, यो वर्ष धान राम्रो छैन”, उहाँले भन्नुभयो, “त्यसैमा पानीले भिजाएको छ ।” खेती भित्र्याउने समयमा हुने वर्षाले कञ्चनपुरमा वर्षेनी क्षति हुने गरेको छ । किसानले हरेक वर्ष आउने बेमौसमी वर्षाका कारण पछिल्ला वर्षयता धानबाली राम्ररी भित्र्याउन पाएका छैनन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले ठाउँठाउँमा वर्षाको कारण पाकेको धान भिजेको बताउनुभयो । “क्षतिको आधिकारिक विवरण आएको छैन, वर्षाले जिल्लाभर १०÷१५ प्रतिशत धान भिजाएको अनुमान छ”, उहाँले भन्नुभयो, “अहिले किसानलाई धान भित्र्याउने चटारो छ ।” जिल्लाभर अहिलेसम्म ५०÷६० प्रतिशत खेती मात्रै भित्र्याइएको अनुमान छ । अझै पानी पर्ने सम्भावना रहेकाले किसानलाई सतर्कता अपनाउन उहाँले आग्रह गनुभयो ।

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।
–––