कतारको रोजगारीमा ठगिएर गाउँ फर्केका कञ्चनपुका धन्नुबहादुर उखु खेतीबाट मालामाल

कञ्चनपुर – वैदेशिक रोजगारीबाट सोचेजस्तो कमाइ नभएपछि घर फर्केका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । ६ वर्षदेखि उखु खेती गर्दै आएका उनले वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । ट्रेन्च प्रविधिमा रानाले उखु खेती गरिरहेका छन् ।

चार बिघा जग्गामा रानाले उखु लगाएका छन् । ‘पाँच बिघा जग्गामध्ये एक बिघा जग्गा मेरो स्वामित्वको हो, एक बिघा जग्गामा धान र गहुँ लगायतका बाली लगाउँछु, चार बिघा जग्गा लिजमा लिएर उखु खेती गरेको छु’, उनले भने । चार बिघा जग्गामा एक हजारदेखि एक हजार सात सय क्विन्टलभन्दा बढी उखु उत्पादन हुने गरेको उनले बताए ।

‘उत्पादित उखु चिनी मिलले खेतबाटै गाडीमा ढुवानी गरिदिने गरेको छ । पैसा बैङ्क खातामा मिलले नै हालिदिन्छ, उखु लगाउने, गोडमेल गर्ने, सिँचाइ गर्ने, मलखादको व्यवस्था गर्ने, कटान गरी मुठा बाँधेर राख्ने काम मात्रै मैले मजदुर लगाएर गर्ने गरेको छु’, रानाले भने ।

मजदुरको ज्याला, सिँचाइ, मलखाद, जोताइमा गरी एक लाखदेखि एक लाख ३० हजार रुपैयाँसम्म खर्च आउने गरेको उनले बताए । घरमै बसी बसी आम्दानी हुँदै आएकाले यस खेतीलाई आधा दशकदेखि निरन्तरता दिँदै आएको रानाकाे भनाइ छ ।

उनका अनुसार, एकपटक लगाएपछि तीन वर्षसम्म उखुलाई सामान्य मिहिनेत गरी आम्दानी लिन सकिन्छ । उनले भने, ‘वैदेशिक रोजगारीबाट धेरै कमाई गर्न सकिन्छ भनेर नै गाउँकै साहुबाट तीन लाख रुपैयाँ कर्जा निकालेर कतार पुगेर काम गरेँ, मासिक ५० हजार रुपैयाँ तलब पाइन्छ भनेर दलालले लाेभ्याएकाे थियाे ।