दसैँ सकिएसँगै अछाम जिल्ला प्रशासनमा बिहानैदेखि सेवाग्राहीको भीड

अछाम, १३ कात्तिक : हिन्दूहरुको महानचाड दसँैं सकिएसँगै जिल्ला प्रशासनमा सेवाग्राहीको भीड बढेको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउनेलगायत प्राशासनिक कामका लागि सेवाग्राहीको भीड लाग्न थालेको हो ।

बिहानैदेखि सेवाग्राही लाइनमा बसेर पालो कुरिरहेको देख्न सकिन्छ । लामो समयदेखि रोजगारीको सिलसिलामा भारत गएका र काठमाडाँैलगायत विभिन्न ठाउँमा अध्यनका लागि गएका विद्यार्थी दसैँ र तिहार मनाउन घर फर्केसँगैै विभिन्न कामको लागि जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको भीड लाग्न थालेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।

दसँैं र तिहार अघि सेवा लिनेको सङ्ख्याभन्दा अहिले सेवाग्राहीको सङ्ख्या बढेको उहाँको भनाइ थियो । सेवाग्राहीको भीड बढे पनि कार्यालयले आधा घण्टामै सेवा प्रदान गरिरहेको छ । कर्मचारी अभाव हुँदा पनि आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडभाडसमेत कम भएको छ ।सेवाग्राहीले आवश्यक सम्पूर्ण कागजात पु¥याए ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताउनुभयो । उक्त कार्यालयमा अहिले २२ कर्मचारीको दरबन्दी रहेको छ । दरबन्दीअनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी, दुई जना प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि सहायक प्रमुख जिल्ला अधिकारीको अभाव विगत वर्षदेखी नै हुँदै आएको छ ।

दुई प्रशासकीय अधिकृतको दरबन्दीमा एक प्रशासकीय अधिकृत,पाँच नायब सुब्बाको दरबन्दीमा एक नायब सुब्बा, तीन खरिदारको दरबन्दीमा दुई जना र दुई कम्प्युटर अपरेटरको दरबन्दीमा करारका कर्मचारी काम गरिरहेका छन् । यसअघि असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत रामप्रसाद शर्मा र यादव भण्डारीलाई यहाँ सरुवा गरे पनि उनीहरूको उपस्थिति भएको थिएन ।
कर्मचारीको अभावमा समेत जिल्ला प्रशासन कार्यालयले ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि टाढा टाढाबाट आएका नागरिकलाई निकै सहज भएको छ । नागरिकता लिनकै लागि जिल्लावासी दु्ई दिन लगाएर मङ्गलसेन आउने गरेका छन् । जिल्लामा एक मात्र इलाका प्रशासन कार्यालय रहेको विनायकमा एक जना कार्यालय सहयोगीको भरमा कार्यालय चलिरहेको छ ।