भूकम्प पीडितलाई सांसद पौडेल र प्रदेशसभा सदस्य सुवेदीको एक महिनाको तलब

काठमाडौँ, १९ कात्तिक-नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्पका पीडितलाई राहत र पुनःस्थापनका लागि सरकारको कोषमा आफ्ना तर्फबाट एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

सांसद पौडेलले आज विज्ञप्ति प्रकाशन गरी भूकम्पले पु¥याएको विपत्तीमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्घीय सांसदका रुपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

त्यसैगरी गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले पनि भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गर्नुभएको छ । हिजो बागलुङमा उहाँले भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत तथा उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने उहाँले जानकारी दिनुभएको हो ।

बागलुङ क्षेन नम्बर १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुवेदीले भूकम्पमा परेर घाइते भएकाहरुको यथोचित स्वास्थ्य उपचार र त्यसपछि राहातको व्यवस्था गर्न माग पनि गर्नुभयो । उहाँले सो प्राकृतिक बिपत्तिमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।