गण्डकी प्रदेश : सात दिनको तलब भूकम्पपीडितलाई

लेखनाथ – नेकपा(एमाले)बाट गण्डकी प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यले एक हप्ता बराबरको तलब भूकम्पपीडितलाई प्रदान गर्ने भएका छन् । संसदीय दलको आइतबारको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु दुई लाख ७९ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

दलका २१ जना सदस्यको एक हप्ताको पारिश्रमिक बराबरको उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको दलका नेता खगराज अधिकारीले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।

आफूहरूले सुरुवात गरेको र पार्टीले पनि सहयोग सङ्कलन गर्न सक्ने भएकाले तत्काललाई एक हप्ताको मात्रै पारिश्रमिक पठाउन लागेको जानकारी नेता अधिकारीले बताउनुभयो । गण्डकीमा एमालेका उपसभामुखसहित २२ जना प्रदेशसभा सदस्य छन् ।

दलका नेता खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले घाइतेको उपचारमा आवश्यक परेमा थप सहयोगसमेत प्रदान गर्ने बताउनुभयो । साथै बैठकले भूकम्पबाट ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।