एघारौँ शताब्दीमा बनेको गुम्बा मर्मत

सिमकोट (हुम्ला), २३ कात्तिक । हुम्लाको नाम्खा गाउँपालिका–६ हल्जी गाउँमा एघारौँ शताब्दीमा निर्माण भएको हल्जी थुप्देन रिन्जिलिङ गुम्बाको मर्मत कार्य पूरा भएको छ । जीर्ण अवस्थामा रहेको ऐतिहासिक गुम्बाको तीन वर्ष लगाएर मर्मत पूरा भएको हो ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पुरानो कलाले भरिएको गुम्बाको मर्मत पूरा भएको जानकारी दिए । गुम्बा मर्मत गर्न पुरातत्व विभाग, प्रदेश सरकार र गाउँपालिकाको झण्डै एक करोड खर्च भएको उनले बताए ।

बहुमूल्य मूर्ति भएको गुम्बा मर्मतपछि पुरानै स्वरुपमा परिणत भएको वडाध्यक्ष तामाङले बताए । गुम्बाको केही पुरानो भागलाई मर्मत गरिएको छ भने केही नयाँ संरचनासमेत तयार पारिएको छ । गुम्बा रहेको क्षेत्रमा अतिथिगृह पनि निर्माण गरिएको छ ।