छठको पूर्वसन्ध्यामा शान्तिसुरक्षाका लागि प्रहरी र स्थानीयतह सक्रिय

रौतहट, १ मङ्सिर : तराई/मधेसको महत्त्वपूर्ण चाड छठ पर्वको तयारीमा स्थानीयवासी व्यस्त छन् । समाजमा चोरी र आपराध गर्नेहरुले यसैको मौका छोपेर तनाव दिने गरेका छन् ।

रौतहटको बङ्कुल बजारस्थित दुई मोबाइल पसमा गएराति रु २० लाखभन्दा बढी सामानको चोरी भएको छ । भारतको घोडासहान सीमानासँग जोडिएको उक्त बजारमा बिहारमा जाँड रक्सी निषेध गरिएकाले मदिरा सेवनका लागिसमेत भारतबाट मानिस आउनेजाने गर्दछन् । खुला सीमानाका कारण चोरी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पर्दै आएको छ । यस क्षेत्रमा खटाइएका प्रहरी जनशक्ति र उनीहरूका लागि स्रोतसाधन अपर्याप्त रहेको सुरक्षाकर्मीहरू बताउँछन् ।

बौधीमाई नगरपालिका–७, बङ्कुल बजारस्थितको प्रहरी चौकी नजिक एनके मोबाइल इलेक्ट्रोनिक्समा करिब रु २० लाख र गयरे रिपेरिङ सेन्टरमा रु तीन लाख बराबरको सामान चोरी भएको छ ।

मोबाइल इलेक्ट्रोनिक्सका सञ्चालक स्थानीय अवधकुमार कुशवाहाले राति पसलको छत फुटाएर ल्यापटप, प्रिन्टर, स्मार्ट मोबाइललगायत सामान चोरी भएको बताउँदै घटनाबारे आज बिहान प्रहरीलाई खबर गरिएको जनाउनुभयो । कुशवाहाले प्रहरीहरू सीमा क्षेत्रतिर बढी व्यस्त रहने भएकाले बजारमा असुरक्षा बढेको गुनासो गर्दै चोरी गर्नेहरूको खोजीमा तीव्रता दिन आग्रह गरिएको बताउनुभयो ।

परोहा नगरपालिका–७, नरकटिया निवासी जयप्रकाश यादव सञ्चालक रहेको गयरे रिपेरिङ सेन्टरबाट काउन्टरबाट नगद रु ७० हजार र सामानसमेत गरी रु तीन लाख बराबरको चोरी भएको सञ्चालक यादवले बताउनुभयो । उहाँले घटनाबारे बिहान दुईपटक खबर गरेर आफैँ बाइकमा लिन गएपछि प्रहरी घटनास्थलमा आएको गुनासो गर्नुभयो । उक्त सेन्टरमा कोभिडका समयमा पनि चोरी भएको थियो ।

जिल्ला प्रहरीका कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको र चाडबाडका समयमा हुन सक्ने चोरी र अपराधका घटना नियन्त्रणका लागि कडा सुरक्षा व्यवस्थाका लागि सम्बन्धित प्रहरी इलाकालाई निर्देशन दिइएको बताउनुभयो । उहाँले घटनाबारे अनुसन्धानको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयबाट अपराध अनुसन्धानसम्बन्धी टोली खटाइएको र यस्ता घटना दोहोरिन नदिन सचेत गराइनाका साथै अपराध कार्यमा संलग्नलाई पत्ता लगाई कानुनी कारबाही गरिने विश्वास दिलाउनुभयो ।

बौधीमाई नगरपालिका–७ पूर्ववडाध्यक्ष विजय कुशवाहले बजारमा असुरक्षा हुँदा सुरक्षा निकायले पर्याप्त ध्यान दिन नसकेको गुनासो गर्नुभयो । नेपाली कांग्रेसका स्थानीय नेता राजनबाबु जैसवालले चाडपर्वका समयमा चोरी र अपराधका घटना वृद्धि भइरहेकाले शान्तिसुरक्षाका लागि प्रहरीले थप चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुकार यादवले प्रहरी चौकी नजिकैको पसलमा छानामाथि पसेर चोरी हुनुलाई गम्भीररुपमा लिइएको बताउँदै प्रहरीले जसरी पनि दोषीलाई पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो । “समाजमा शान्तिसुरक्षा फितलो भएको छ । आफ्नो रोजीरोटीका लागि काम गरेर खानुपर्ने व्यवसायीको यसरी पर्वका अवसरमा चोरी हुनु दुःखद् छ । घटनाबारे शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउन नगरपालिकाका तर्फबाट सक्दो सहयोग हुनेछ ।”

गत साता जिल्लाको चपुरस्थित सोनेलाल चौधरीको घरमा करिब डेड लाख नगद, १४ तोला सुन र ५४ तोला चाँदीलगायत सामान चोरी भएको थियो । लुटेराले चौधरीका श्रीमती र छोरीलाई आक्रमण गरी घाइते बनाएका थिए । प्रहरी प्रमुख श्रेष्ठले उक्त घटनामा संलग्न भएको आरोपमा दुई जनालाई महोत्तरीका पक्राउ गरिएको र त्यहाँको अनुसन्धान प्रक्रिया सकिएपछि रौतहट ल्याई अदालतमा मुद्दा चलाइने बताउनुभयो ।

रौतहट, बारा, र पर्साबाट नजिक पर्ने छिमेकी भारतको घोडासाहन, चैनपुर, वर्गिनिया, छौडादानु, आदापुर र रक्सौल सीमानासँग जोडिएका क्षेत्रमा शान्तिसुरक्षा स्थापनाका लागि सशस्त्र प्रहरी खटिएको छ ।

यही मङ्सिर ३ गते हुने छठ पर्वको तयारी लागि यहाँका स्थानीय छठघाटहरूमा व्यवस्थापन गर्न व्यस्त रहेका छन् । बौधीमाई नगरपालिका–९ का अध्यक्ष मुक्तिनारायण मिश्रका अनुसार छठीमाताको पूजाका लागि पोखरी र तलाउमा बेहुली जस्तै सजाउने कार्य भइरहेको छ ।