साना हतियार भित्रन सक्ने आशंकामा सबै नाकामा कडा चेकजाँच

काठमाडौं । देशभरबाट राजधानी आउनेमाथि कडा निगरानी शुरू भएको छ । सुरक्षा निकायले राजधानीमा साना हतियार भित्रिएको आशंका गर्दै उच्च सतर्कता अपनाएको छ ।भोलि मंसिर ७ गते एकै दिन काठमाडौंको तीनकुने र बल्खुमा राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति नागरिक बचाउ महाअभियान घोषणाको आह्वान गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र ‘भ्रष्टाचार, अनियमितता र सामाजिक अराजकताविरुद्ध’ नेकपा एमालेका भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले प्रदर्शन गर्ने भएपछि उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको हो ।

प्रहरीले उपत्यका प्रवेश गर्ने सबै नाकामा सवारीसाधनको विशेष चेकजाँच शुरू गरेको छ । विशेष गरी मोटरसाइकलबाट साना हतियार भित्रन सक्ने आशंका गर्दै प्रहरीले मोटरसाइकल र स्कुटरको डिकी खोलेर चेकजाँच शुरू गरेको छ भने सबै सवारीसाधनमा चेकजाँच शुरू गरेको छ ।

प्रहरीले सोमबार रातिदेखि सबै नाकामा सशस्त्र र नेपाल प्रहरीले चेकजाँच शुरू गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले चेकजाँच मात्र नभई सबै सुरक्षा संयन्त्र परिचालन गरी उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत तुल्याइएको बताउनुभयो । प्रहरीले दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुन आएको आशंका गर्दै भारतीय हिजो मंगलबार दिनभर भारतीय र नेपाली सवारीसाधनको चेकजाँच गरेको छ । स्रोतका अनुसार सिन्धुलीको चियाबारीस्थित मञ्जरी र त्यसआसपासका होटलमा भारतीय सवारीसाधनको संख्या बढी भएपछि चेकजाँच बढाएको थियो ।

प्रहरीले काठमाडौं प्रवेश गर्ने फर्पिङ, थानकोट, मातातीर्थ, धुलिखेल, भक्तपुरको जगातीलगायत एक दर्जन क्षेत्रमा सबै सवारीसाधन रोकेर चेकजाँच गरेको छ । विशेष गरी साना सवारीसाधनबाट साना हतियार भित्रिएको आशंका उच्च सुरक्षा अधिकारीको छ ।

नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले सबै प्रकारका सुरक्षा जाँच गरिएको बताए । उनले भने– ‘शान्ति सुुरक्षाको अवस्था मजबुत छ, त्यसमा सुरक्षा उपलब्ध गराउन कुनै कसुर बाँकी राख्दैनौं ।’ उनले प्रहरीले आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको जानकारी दिए ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठक, जिल्ला सुरक्षा समितिको बैठकले बिहीबारको प्रदर्शनमा हुन सक्ने सम्भावित घटनाको विश्लेषण गरी सुरक्षा व्यवस्था तयार गरिएको छ । प्रदर्शनको तयारी गरेका दुवै पक्षले शान्तिपूर्ण प्रदर्शन हुने जनाएका छन् ।

तर, सुरक्षा निकायले प्रदर्शनमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अघिल्लो र नेपाली सेना गरी तीनै तहको सुरक्षा निकाय परिचालन गर्ने तयारी गरेको छ । सूचना संकलन गर्न राष्ट्रिय अनुसन्धान विभागका प्रहरी परिचालन गरेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जिल्ला सुरक्षा समितिको योजना र स्थानीय प्रशासनको आवश्यकताअनुसार सबै सुरक्षा निकाय परिचालन हुने सम्भावना रहेको बताए । उनले भने– ‘जिल्ला सुरक्षा समितिको बैठकमा नेपाली सेना सदस्य हुने भएकाले सोहीअनुसार समितिले निर्णय गर्न सक्नेछ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।