बेलायत सरकारबाट उच्च सैनिक सम्मान पाएका भिसी तुलबहादुरको स्मृतिमा सङ्ग्रहालय बनाइने

म्याग्दी, ६ मङ्सिर । बेलायत सरकारबाट उच्च सैनिक सम्मान भिक्टोरिया क्रस (भिसी) प्राप्त गरेका स्वर्गीय तुलबहादुर पुनको स्मृतिमा सङ्ग्रहालय बनाउने तयारी भएको छ ।पुनको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ को तिप्ल्याङमा सङ्ग्रहालय बनाउन उनका परिवारले जग्गा उपलब्ध गराएका हुन् ।

तुलबहादुरका छोरा अर्जुन तिलिजालगायत परिवारका सदस्यले तिप्ल्याङमा उपलब्ध गराइएको चार आना जग्गामा सङ्ग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

“बेनी–जोमसोम सडकको छेउमै रहेको जग्गामा भिसी तुलबहादुरको जीवन झल्काउने तस्बिरका साथै गाउँपालिका र म्याग्दीको ऐतिहासिक, मौलिक, सांस्कृतिक र दैनिक जीवनयापनमा प्रयोग हुने सामग्री सङ्कलन गरेर राख्ने तयारी गरेका छौँ”, उनले भने, “यस कार्यसँगै पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सङ्ग्रहालयको संरचना बनाउन लगानी खोजीमा छौँ ।”

दोस्रो विश्वयुद्धमा युद्धकला प्रदर्शन गरेबापत बेलायत सरकारले पुनलाई सर्वोच्च युद्व पदक भिक्टोरिया क्रसको सम्मान प्रदान गरेको थियो ।

तिप्ल्याङको नजिकै बादुकस्थित तुलबहादुरको जन्म घरलाई पनि संरक्षण गरेर राखिएको रघुगङ्गा–१ का वडा सदस्य बलमान गौचनले बताए । “जन्मस्थानको अवलोकन/भ्रमण गराउन र भिसीका कथा सुनाउन स्थानीय पथप्रदर्शकलाई उचित सीप र भाषामूलक तालिम सञ्चालन गर्ने योजना बनाएका छौँ,” उनले भने, “बादुकको कृष्ण आधारभूत विद्यालय र तिप्ल्याङमा तत्कालीन कालिका माविको संस्थापकसमेत रहेका पुनले गाउँको विकासमा समेत ठूलो योगदान पु¥याउनुभएको थियो ।”

मगर कलासंस्कृति, बेगसँग जोडिएको दोस्रो अग्लो र लामो झोलुङ्गे पुल भएको बादुक गाउँमा स्वः पुन नाममा सङ्ग्रहालय निर्माण गर्न सकेमा आन्तरिकसँगै बाह्य र अध्ययनका लागिसमेत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने वडाध्यक्ष बिलबहादुर फगामीले बताए ।

भिसी पुनको समाधीस्थलमा स्थानीयवासीले संरक्षण गरी पुन्यतिथिमा श्रद्धाञ्जलिसभा गर्ने गरेका छन् । बेलायती गोर्खा सैनीकको सेवाबाट अवकाश पाएसँगै पुन आफ्नै गाउँ फर्किएर गोरखा वेलफेयर ट्रस्टमार्फत विभिन्न सामाजिक गतिविधिमा सक्रिय भएका थिए । विसं १९७९ फागुन २१ (४ मार्च १९२३) मा बाँदुकमा जन्मिएका तुलबहादुरको ८९ वर्षको उमेरमा विसं २०६८ मा तिप्ल्याङमा निधन भएको थियो ।

तुलबहादुरको सम्मानमा तिप्ल्याङदेखि बाँदुक गाउँ जोड्ने सडकलाई भिसी मार्ग नामकरण गरिएको छ । भिसी सौर्य पदक मुलतः शत्रु पक्षको उपस्थितिमा आफ्नो राष्ट्रको लागि अद्धितिय पराक्रम र निष्ठा युद्धभूमिमा प्रदर्शन गरे बापत बेलायत सरकारले प्रदान गर्ने व्यक्तिगत अदम्य साहस र उच्चतम बहादुरीको प्रतीक हो ।बेलायतको एक रेल सेवाले स्व तुलबहादुर पुनको सम्मानमा रेल सेवाको नामकरण समेत गरेको छ । पुनले भिक्टोरिय क्रस पाउँदा २१ वर्षका थिए ।