छोरी जन्माउनुस् प्रोत्साहन भत्ता लिनुस्

बैतडी । छोरी भन्ने वित्तिकै हाम्रो समाजमा नकारात्मक दृष्टिले हेर्ने चलन छ । जुन महिलाको कोखबाट हामीले जन्म लिन्छौ र पछि उही महिलालार्इ हामी हेप्छौ । र छोरा-छोरीमा हामी भेदभाव गछौ । अब यस्तो नहोस् भन्ने हेतुका साथ छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक/एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो ।

छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । हाम्रो समाजमा अझै पनि छोरा र छोरी भनेर विभेद गरिन्छ उहाँले भन्नुभयो, “छोराछोरीबीचको विभेद अन्त्य हुने विश्वास लिएका छौँ” छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा समानता कायम गर्नका लागि छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको उहाँको भनाइ रहेको छ ।

गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको थियो । सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चार पटक गर्भजाँच गराएमा थप रु चार सय दिँदै आएकोमा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो ।
दोगडाकेदार गाउँपालिकाले छोरी जन्मिदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको स्थानीय कुत्ती भुलले बताउनुभयो । श्रीकोट स्वास्थ्य चौकीमा मेरो छोरी जन्मिदा थप रु एक हजार मिल्यो, उहाँले भन्नुभयो, “पैसा कमै भए पनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो ।”