बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो

काठमाडौँ-कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार खोप कोभ्याक्समार्फत बुस्टर डोजका लागि ल्याइएको हो । यसअघि गत मङ्सिर ८ गते तीन लाख ७३ हजार खोप आएको थियो ।

कोभ्याक्सले कूल सात लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो । अहिले पनि प्रदेश तहबाट बुस्टर डोजका लागि खोपको माग हुने गरेको छ । ती आएका खोपलाई प्रदेशमा पठाइनेछ ।