निसानले विद्युतीय कार उत्पादनका लागि बेलायतमा एक अर्ब पाउन्ड लगानी गर्ने

जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा १ अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ ।

निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई बेलायत सरकारले अनुमोदन गरेको छ ।

निसान योकोहामा, कानागावा प्रिफेक्चर, जापानमा मुख्यालय रहेको जापानी बहुराष्ट्रिय कार उत्पादन कम्पनी हो ।

सन्डरल्याण्डको नजिकै एक समर्पित इलेक्ट्रिक ब्याट्री प्लान्ट पनि रहेको र यस कदमले निसानको सबैभन्दा ठूलो युरोपेली सुविधामा छ हजार रोजगारीको भविष्य सुरक्षित गर्न मद्दत गर्नेछ ।

निसानका प्रमुख कार्यकारी माकोटो उचिदाले शुक्रबार गर्ने घोषणाका लागि प्रधानमन्त्री ऋषि सुनक सण्डरल्याण्ड कारखानामा उपस्थित हुने अपेक्षा गरिएको छ ।निसानका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।