थुनामा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको अवस्था एकसातादेखि अज्ञात

युरोपेली युनियनले कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई तत्काल रिहा गर्न आह्वान गरेको छ । नभाल्नीका सहयोगीहरूले उनी बेपत्ता भएको बताएका छन् । उनको टिमका अनुसार कयौँ अदालती सुनुवाइमा उनी सहभागी भएका छैनन् । नभाल्नीका वकिलहरूलाई उनलाई कारागारबाट कुनै अज्ञात स्थानमा लगिएको बताइएको छ ।

सात दिनदेखि नभाल्नी बेपत्ता भएको अत्यन्त चिन्ताजनक खबर आएको इयुका विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् । उनले नभाल्नीलाई राजनीतिबाट प्रेरित कैदबाट तत्काल बिनाशर्त रिहा गर्न आग्रह गरेका छन् ।

सन् २०२० मा सोभियत युगको स्नायु एजेन्ट नोभिचोकको विषाक्तताबाट बाँचेका नभाल्नीले ‘चरमपन्थी’ र धोखाघडी लगायतका धेरै आरोपमा रुसी अदालतले दोषी ठहर गरेपछि १९ वर्षको कारागार सजाय भोगिरहेका छन् ।

उनका सहयोगीहरूले नभाल्नी बेपत्ता हुनुलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी मार्चमा पाँचौँ राष्ट्रपति कालका लागि निर्वाचन लडेर लामो शासन विस्तार गर्ने योजना बनाएको घोषणासँग जोडेका छन् ।