काठमाडौँमा मेलम्चीको पानी छिट्टै वितरण हुने

हेलम्बु गाउँपालिकाको आम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवक्र्स) स्थलगत अनुगमनको क्रममा खानेपानीमन्त्री यादवले काठमाडौँमा मेलम्चीको पानी नियमित वितरण गर्न तथा सो आयोजनालाई स्थायित्व दिन आयोजनाको पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्रालयका सचिव रामआधार साह, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारी, आयोजनाका इन्जिनियरहरूसहित मुहानस्थलको अनुगमनमा पुग्नुभएका मन्त्री यादवले काठमाडौँ पानी पठाउन सुरुङमा पानी पथान्तरणको सुनिश्चितता गरेपछि मात्र आफू काठमाडौँ फर्किने प्रतिबद्धता गरे । उनले मन्त्रालयको टोलीसहित आफूहरू चार÷पाँच दिनसम्म मुहान क्षेत्रमै बस्ने जानकारी दिए ।

उनले भने, “एक÷दुई दिनमा मुहानस्थलसम्म पुग्ने बाटो निर्माण हुन्छ । त्यसपछि मुहानस्थलमा काम सुरु हुन्छ । चाँडोभन्दा चाँडो काठमाडौँमा पानी पठाइने छ । प्राविधिक रूपले केही ढिलो भए पनि मेलम्चीको पानी काठमाडौँ पठाउन यहाँका स्थानीय जनता एकमत रहेका र उहाँहरूको महŒवपूर्ण योगदान रहेको छ ।”

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक अन्सारीले बाहिर भने जस्तो पानी पठाउन सजिलो नरहेको बताउँदै पानी पथान्तरण गरिने सुरुङमा समस्या नभए पनि पानी बगाउन प्रयोग गरिने प्रेसरसुरुङमा समस्या रहेको बताए ।

उनले भने, “हेडवक्र्स क्षेत्रमा १५ मिटर गहिरो पुरिएको छ । त्यहाँ जम्मा भएका ढुङ्गा बालुवा पूरा सफा नगरिएसम्म पानी पठाउने प्रणाली सञ्चालनमा ल्याउन सकिँदैन । मुहानसम्म पुग्ने बाटो निर्माणसँगै हेडवक्र्स क्षेत्रको काम सुरु हुन्छ ।” उनका अनुसार बाटो निर्माण र हेडवक्र्स क्षेत्रको सफाइका लागि चार वटा डोजर परिचालन गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।