सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य :मन्त्री बस्नेत

जाजरकोट-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नागरिकलाई सङ्घीयताको सुन्दर प्रत्याभूति गराउनका लागि आफूहरु लागिपरेको बताउनुभयो ।
छेडागाड नगरपालिका–५ चङ्खेलीमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले यस क्षेत्रका नागरिक अब नागरिकता लगायतको सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो । पश्चिम क्षेत्रको विकास निर्माणका लागि आफूहरु सधँै निरन्तर लागिपरेको उहाँको भनाई छ । सडक, खानेपानी, सिँचाइ तथा पुल निर्माणमा आफूहरुको पूर्णरुपमा जोड रहेको उहाँको भनाइ छ । केही समय पछि पूर्वी क्षेत्रमा पनि इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो । जाजरकोटको पश्चिम क्षेत्रका नागरिकका लागि बहुप्रतिक्षित यो कार्यालयको सुरुवातसँगै नागरिकमा निकै राहत पुगेको छ । आफ्ना घरको खाना खाएर पनि बिना खर्च नागरिकतालगायत सेवा पाउँदा आफूहरू निकै खुसी भएको स्थानीय मानबहादुर बुढाले बताउनुभयो ।

पश्चिम क्षेत्रका छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाका चार वटा वडाका नागरिकले नागरिकता लगायतका सेवा पाउने भएका छन् । यसरी आफ्नै गाउँघरबाट नागरिकता लगायतका सेवा पाउने भएपछि नागरिक अत्यन्तै खुसी भएका भएका छन् । कार्यक्रममा पूर्व शान्तिमन्त्री सत्य पहाडीले नागरिकको राज्यको सेवा सुविधा सुलभ रूपमा पाउने अधिकार अन्तरगत कार्यालयले नागरिकलाई सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले इलाका प्रशासन कार्यालय स्थापनासँगै अब यस क्षेत्रका नागरिकका लागि चार हजार रुपियाँ खर्च गरेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । यस सेवाले आफूहरूमा निकै सेवा पुग्ने थापाको भनाइ छ ।