भ्यानले दुई जनाको ज्यान लिएको केही दिनमै माडीमा अर्को दुर्घटना, वडासदस्य लुइँटेलको मृत्यु

भरतपुर (चितवन), १ पुस : चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । उहाँ नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित हुनुभएको थियो ।

बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको जानकारी दिनुभयो । केही दिनअघि मात्रै माडीमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।