‘प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व रामनारायण मिश्र उच्च कोटीका नेता’:महामन्त्री शर्मा

जनकपुरधाम, ६ पुस : ‘बरु म आफ्नो टाउको कटाउन तयार छु तर स्वाभिमान सुम्पिन तयार छैन । म मर्न तयार छु तर आत्मसमर्पण गर्दिन’ भनेर नेपाली कांग्रेस नेता स्व रामनारायण मिश्रले पञ्चायतविरुद्धको आन्दोलनपछि जेलमा हुँदा लिएको अडानबारे धेरै नेताहरूले उद्धृत गर्दै आएका छन् ।

जनकपुरधाममा आयोजित नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मलेन उद्घाटनसत्रका वक्ता कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि त्यस्तै भन्नुभएको थियो, “तत्कालीन शासकलाई शिर कटाउन तयार छु तर स्वाभिमान सुम्पिन्न भन्नुहुने हाम्रो नेता स्व रामनारायण मिश्रजस्ता तमाम क्रान्तिकारी योद्धाहरूको भूमि हो मधेस ।”

तिनै स्वभिमानी व्यक्तित्व प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता रामनारायण मिश्रको ५६औँं पुण्यतिथि हो आज । त्यसै अवसरमा आज जनकपुरधाममा आयोजित श्रद्धाञ्जलि एवं प्रार्थनासभापछि कांग्रेस नेता विमलेन्द्र निधिले पनि स्व नेता मिश्रलाई नेपाली प्रजातान्त्रिक आन्दोलनको एक उच्च कोटीको नेताको सङ्ज्ञा दिनुभयो ।

रासससँग निधिले भन्नुभयो, “स्व मिश्र प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको समकालीन व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले त कोइरालाकै मन्त्रिमण्डलमा उहाँ पनि उद्योग वाणिज्यमन्त्री बन्नुभयो । पञ्चायतविरोधी आन्दोलनमा जेल पर्नुभयो तर विभिन्न आश्वासनका बाबजुद पनि प्रजातन्त्रप्रतिको निष्ठालाई दाउमा लाउनुभएन । तिनै नेतालाई हामीले स्मरण गरिरहेका छौँ ।”

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुखसमेत रहनुभएका रामनारायण मिश्र स्मारक समिति संयोजक किशोरी साहले पनि स्व मिश्रकै नेतृत्वमा तत्कालीन नेताहरू महेन्द्रनारायण निधि, सरोज कोइरालालगायतले राणाविरोधी आन्दोेलन, प्रजातन्त्र बहाली र पार्टी बहुदलका पक्षमा काम गर्नुभएको स्मरण गर्नुभयो ।

“जहानियाँ शासनविरुद्ध सुरुदेखि नै क्रियाशील स्व मिश्र विसं २००४ देखि लोकसेवक सङ्घको माध्यमबाट विभिन्न सामाजिक तथा जनचेतनामूलक क्रियाकलापमा संलग्न हुनुहुन्थ्यो । उहाँ विसं २००७ मा कांग्रेसले सञ्चालन गरेको सशस्त्र क्रान्तिमा समेत सहभागी हुनुभयो । विसं २०१५ को संसदीय आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा महोत्तरीबाट निर्वाचित उहाँ बिपी कोइरालाको नेतृत्वमा विसं २०१६ जेठ १३ गते गठित मन्त्रिमण्डलको उद्योग वाणिज्यमन्त्रीसमेत हुनुभयो”, साहले भन्नुभयो ।

उद्योग वाणिज्यमन्त्री रहेकै बेला स्व मिश्रको योगदानका कारण मधेस प्रदेशमा उद्योग कलकारखानको जग निर्माण भएको र त्यसमध्ये जनकपुरमा चुरोट कारखाना तथा वीरगञ्जमा चिनी मिल स्थापना गर्न सम्भव भएको भन्ने गरिएको छ ।

क्यान्सर रोगका कारण विसं २०२४ पुस ६ मा निधन हुनुभएका उहाँको सम्झनामा समाधिस्थल गङ्गासागर तटमा स्मारक समितिले हरेक वर्ष श्रद्धाञ्जलि तथा प्रार्थनासभा आयोजना गर्दै आएको छ । सभामा स्व नेता मिश्रप्रति श्रद्धाअर्पण गर्न कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि, नेता आनन्द ढुङ्गाना, रामहरि खतिवडा, मधेस प्रदेशका प्रदेश प्रमुख एवं स्व मिश्रका छोरा हरिशङ्कर मिश्रलगायत सहभागी हुनुभएको थियो ।