काठमाडौँ, ९ पुस : “मेरो संसद् प्रवेशको एक वर्षे कार्यकालमा जनतासँग बाचा गरेका योजना कार्यक्रम यति गरेँ भनेर म सन्तुष्ट छु भन्ने ठाउँ छैन”, सांसद शान्ति श्रेष्ठले भन्नुभयो, “आफैँले आफैँलाई समीक्षा गर्नुपर्दा मेरो संसद्को वर्षदिनको अभ्यासमा मैले जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ, त्यसैले जनतासँग माफी माग्नैपर्छ ।”
![](https://i2.wp.com/esajhakhabar.com/wp-content/uploads/2022/06/kads.gif?w=640&ssl=1)
सांसद श्रेष्ठलाई जस्तै धेरै सांसदलाई यस्तो पछुतो लागेको छ । किनकी सङ्घीय संसद्को एक वर्षको अवधिमा सांसदले जनतामाझ गरेका वाचा र मुलुकको आवश्यकताका खातिर गर्नुपर्ने काम, बन्नुपर्ने कानुन र हुनुपर्ने विकास निर्माणका काम सांसदकै भनाइमा हुन सकेका छैनन् । उनीहरुकै शब्दमा अतिआवश्यक ऐन, कानुन बन्न विलम्ब भएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा आशातित परिणाम देखिएको छैन ।
यद्यपि, मुलुकको आर्थिक समृद्धि, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण र जनताको सेवालाई चुस्त र प्रभावकारी बनाउने महाभियानमा वर्तमान सरकार लागिपरेको छ । हुनतः जादुको छडीझैँ चमत्कार भइहाल्छ भन्ने पनि छैन । सांसद श्रेष्ठले पनि हिम्मत हार्नुभएको छैन । मडारिएको बाँदलभित्र चाँदीको घेराझैँ नेपालभित्र क्षितिजमा सम्भावना पनि प्रशस्तै छन् । चुनौतीका चाङलाई सामना गरेर समृद्धिको जनआकाङ्क्षा पूरा गर्नेतर्फ लाग्नु सरकार, राजनीतिक दल, नेता र आमजनताको सामूहिक राष्ट्रिय दायित्व र अपरिहार्यता पनि हो । यिनै जिम्मेवारीबोधका साथ सांसदले आगामी दिनमा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको सांसद श्रेष्ठले बताउनुभयो ।
‘सांसदसँग रासस संवाद’मा नेकपा (एमाले)की नेत्री श्रेष्ठले भन्नुभयो, “मेरो अनुभवमा सांसदको भूमिका कानुन निर्माणमा बढी ध्यान दिनुपर्ने रहेछ । तर, यो मुख्य दायित्वसँगै जनताका आवश्यकताअनुरुप विकास निर्माणमा पनि जोडिनैपर्ने बाध्यता छ ।” समानुपातिक सांसदको रुपमा सङ्घीय संसद् प्रवेश गर्नुभएकी सांसद श्रेष्ठ काठमाडौँ गोकर्णेश्वर वडा ६ की स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ विसं २०५४ देखि राजनीतिमा सक्रिय हुनुहुन्छ । विसं २०४२ मा अखिल नेपाल महिला सङ्घ सदस्य, विसं २०५४ को स्थानीय निर्वाचनमा गोकर्णेश्वर नपा वडा ३ को सदस्यमा निर्वाचित हुनुभयो ।
विसं २०५७ मा अनेमको जिल्ला समिति सदस्य हुँदै अनेम सङ्घको छैटौँ काठमाडौँ जिल्ला सम्मेलनबाट अध्यक्ष बन्नुभयो । विसं २०६१ मा पार्टी जिल्ला कमिटी सदस्य, २०६३ मा पार्टीको महाधिवेशन प्रतिनिधि, २०७० मा राष्ट्रिय प्रतिनिधि परिषद् र २०७७ देखि प्रदेश बालअधिकार समिति सदस्यको जिम्मेवारी सम्हाल्नुभयो । त्यस्तै, विभिन्न समयमा भएका महिला अधिकारसम्बन्धी आन्दोलन, विसं २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेल्नुभएकी नेत्री श्रेष्ठ पटक–पटक गिरफ्तार र थुनामा पर्नुभयो ।
सङ्घीय संसद्मा प्रतिनिधि भएको एक वर्ष पूरा हुँदै गर्दा संसदीय अभ्यासमा धेरै सांसद अलि कति आफ्नो कार्य क्षेत्रमा व्यस्त हुने, विकासका काममा बढी खट्ने गरेको सञ्चारमाध्यममा आउने गरेको छ । नेत्री श्रेष्ठ भन्नुहुन्छ, “कानुन बनाउन केन्द्रित हुनुपर्ने सांसद विकास निर्माणमा सक्रिय भए भन्ने जुन कुरा मिडियामा आएको छ, यो मलाई स्वभाविक लाग्छ । किनभने विकासको लागि पनि सांसदले घोषणापत्रअनुरुप बोलिरहनुभएको हुन्छ । म तिम्रो यो काम गर्दिन्छु, त्यो काम गर्दिन्छु । सडक, खानेपानीलगायतका विषय सम्बोधन गर्छु भनेर मत मागिएको हुन्छ ।”
उहाँले कानुन निर्माण र जनताको आकाङ्क्षाअनुरुप काम गर्नु सांसदको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो । “विभिन्न समुदाय र वर्गले उठाएका जायज मागलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने हाम्रो मूल दायित्व हो । तर अहिले संसद्मा दर्ता भएका ४२ वटा विधेयकमध्ये एक मात्र विधेयक पारित भएको छ, र एउटा मात्र विधेयकले कानुनको रुप लिएको छ ।”
सांसद श्रेष्ठले सांसदहरुको भूमिका सबैभन्दा बढी संसद् र संसदीय समिति नै हुनुपर्ने भन्दै कानुन निर्माण र संविधानमा व्यवस्था भएको जनताको मौलिक हकलाई कार्यान्वयन गर्न आफूहरु प्रतिबद्धताका साथ लाग्ने दृढता जनाउनुभयो । उहाँका अनुसार सांसदलाई जनताले निर्वाचित गरेर पठाएको पनि संसद्मा उपस्थित भएर जनसरोकारको विषय उठाउन र कानुन निर्माणमा जनताका कुरा घनिभूत छलफल गर्न जिम्मेवारी दिएको हो । “हामीले विशेष गरी सदन र समितिमै ध्यान दिनुपर्ने हो, म आफूचाहिँ सदन र समितिमा नै बढी समय व्यतीत गरिरहेकी छु । अबको दिनमा पनि जनताको पक्षमा आवश्यक कानुन बनाउन केन्द्रित हुनेछु”, उहाँले भन्नुभयो ।
सङ्घीय राजधानी काठमाडौँको जनप्रतिनिधि भएको नाताले पनि राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्बन्धी नयाँ कानुन निर्माणबारे हालैमात्र छलफल गरेको उहाँले स्मरण गर्नुभयो । विसं २०२९ मा बनेको कानुनबाटै निकुञ्जको व्यवस्थापन भइरहेको भन्दै उहाँले पुरानो कानुनलाई परिस्कृत गर्न लागिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कानुन परिस्कृत गर्न हामी सांसद लागिपरेका छौँ । जनतालाई पनि प्रभावित पार्नुभएन । वन्यजन्तु पनि प्रभावित हुनुभएन । विधेयकमा म सहित धेरै सांसदको संशोधन परेको छ ।”
देशलाई अहिलेको अवस्थाबाट अगाडि लैजान सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको सांसद श्रेष्ठको भनाइ छ । “सबै राजनीतिक दल मिलेर मात्रै देश बन्छ । अहिलेको परिस्थिति बेग्लै छ । जनमत पनि सबै मिलेर सरकार चलाउनु भन्ने छ । तर, त्यसो हुन सकेको छैन”, उहाँले भन्नुभयो ।
एमाले नेत्री श्रेष्ठले आफ्नो पार्टी प्रतिपक्षमा रहेको तर, जनताको पक्षमा निरन्तर बोलिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “एमाले प्रतिपक्षमा छ । जनताको पक्षमा बोलिरहेको छ, काम पनि गर्छ । मध्यपहाडी लोकमार्गलगायतको अधुरो काम पूरा गर्न र जनआकाङ्क्षा पूरा गर्न सरकार र सबै राजनीतिक दल एकताबद्ध भएर जानुपर्ने टड्कारो आवश्यकता छ ।”
भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न अघिल्लो सरकार र वर्तमान सरकारले नारा अघि बढाएकै छन् । सांसद श्रेष्ठको अनुभवमा राजनीतिक दलले भनेर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने रहेछ । प्रशासनिक संयन्त्रले उत्तिकै सक्रियता जनाउन जरुरी छ । मन्त्रालय र हरेक सरकारी निकायमा भ्रष्टाचार गर्दिनँ भन्ने सन्देश कार्यालय र कोठा चोटामा लेखिएको छ । तर, ती कर्मचारी संयन्त्रले भ्रष्टाचार न्यूनीकरणका लागि कति प्रयास गरेका छन् ? यो सोचनीय विषय हो । “जो कुर्सीमा बस्छ, त्यसले कार्यान्वयन गर्नुपर्छ । ‘ब्युरोक्रेसी’ मा राजनीतिक दलले मात्र भनेर नहुँदो रहेछ । नारामा कार्यालय, भ¥याङ, कोठा जहाँतहीँ नारा छन् तर भ्रष्टाचार मौलाइरहेको छ ।”
श्रेष्ठका अनुसार भ्रष्टाचार मौलाउनुमा घुस दिने र लिने दुवै दोषी हुन् । आर्थिक क्षेत्र सुस्त छ, विकास निर्माणले गति लिएको छैन । जनताको करबाट तलब खाने राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचारजस्तो अपराध र पाप कर्ममा प्रोत्साहन गर्न नहुने सांसद श्रेष्ठले बताउनुभयो । अहिले स्थानीय तहदेखि प्रदेश र सङ्घमा पनि विभिन्न भ्रष्टाचारका विषय आइरहेको भन्दै राष्ट्रसेवकले जनताको पक्षमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद श्रेष्ठले आर्थिक र गरिबीका कारण युवापुस्ता विदेश पलायन भइरहेको र धनी परिवार पनि सम्पत्ति बेचेर विदेश बस्ने प्रवृत्ति बढिरहेको भन्दै नागरिकलाई स्वदेशमै बसेर राष्ट्रको उत्थान र प्रवद्र्धनमा जुट्न प्रेरित गरिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “विदेशिने लहर चलेको छ, कतिपय बाध्यता पनि छन् । मेरो विचारमा नेपाली भएर जन्मिएपछि विदेश हैन स्वदेशमै सेवा गरौँ राष्ट्रलाई माया गरौँ भन्ने भावना आमनेपालीमा हुनुपर्छ । पढेलेखेका बुद्धिजीवी पनि विदेश पलायन भइरहेका छन् । आर्थिक अवस्थाका कारण श्रमका लागि खाडीमुलुकमा जानुपर्ने अर्को बाध्यता छँदैछ ।”
सांसद श्रेष्ठको भनाइमा नेपालको सगरमाथासहितका हिमाल, अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधतायुक्त मुलुकलाई माया गर्नेको खाँचो छ । “पढेलेखेका मानिसले विदेश ताक्ने हैन स्वदेशमै बसेर राष्ट्र निर्माणमा जुट्नुपर्छ । विदेशमा हासिल गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनसके भावी पुस्ता र सन्ततिलाई राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।
सांसद श्रेष्ठले समृद्ध नेपाल सुखी नेपालीकोे लक्ष्य र सपनालाई साकार पार्न आम नेपाली सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । सरकारले हालको अवस्थालाई सुधार गरेर नेपाली जनतालाई राहत दिनुपर्ने उहाँले सुझाउनुभयो ।
सांसद श्रेष्ठले एघार महिना संसद्मा जनताका लागि उठाएका योजनाबारे बारम्बार कुरा उठाउदाँ पनि पूरा हुन नसकेकामा आफैँलाई दुःख लागेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको काम गर्ने जोश र हुटहुटी थियो ममा । जनतालाई अलिकति सेवा दिनसके राहत मिल्छ । सहरको भएर पनि दुर्गम क्षेत्रमा केही उदाहरणीय काम गर्नुपर्छ भन्ने मेरो उद्देश्य र प्रतिबद्धता थियो । तर, त्यो पूरा हुन नसकेकामा आफैँलाई दुःख लागेको छ ।”
सांसद श्रेष्ठले काठमाडौँको सुन्दरीजल राष्ट्रिय निकुञ्जमा सवारी साधन आवतजावत र नागरिकलाई सहजरुपमा हिँड्डुलका लागि पहल गरिरहेको बताउनुभयो । महिला सशक्तीकरण, साक्षरता अभियान, महिला विद्यालय र समाज सेवासम्बन्धी काम गर्नुभएकी सांसद श्रेष्ठले आगामी दिनमा महिला सशक्तीकरण, गरिबीको रेखामुनि रहेका महिलाको जीवनस्तर उकास्ने, शिक्षा प्रणालीको सुधारलगायत विषयमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।