सम्पर्कविहिन क्यानडाका नागरिक चार दिनपछि भेटिए

दमौली- तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारबाट सम्पर्कविहीन भएका एक विदेशी पर्यटक भेटिएका छन् । क्यानडाका किल्क मिल्हौसेन बेपत्ता भएको चार दिनपछि भेटिएका हुन् ।

निजलाई व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा नजिक भेटाएर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले निज जान सक्ने सम्भावित ठाउँहरुको खोजी गर्दै जाँदा घाँसीकुवाको माथिपट्टि रहेको जङ्गलमा भेटाएको हो । उहाँलाई काठमाडौँ पठाएका छौँ ।”

पोखराबाट काठमाडौँ जाने क्रममा ती पर्यटक डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएका थिए । निजको सामान भने सोही दिन काठमाडौँ पुगेको थियो ।