सन् २०२४ सँगै ‘नयाँ सुरुवात’ को आशामा इजरायली युवा

सन् २०२४ को नयाँ वर्षको आगमनमा घण्टी बजेको केही सेकेन्डपछि इजरायली युवा नयाँ बर्ष मनाउँन तेल अभिभ शहरका सडकमा बेफिक्री हिँडिरहेका देखिन्थे । क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले रकेटलाई आकाशमा रोकेको आवाज सुन्दा उनीहरू झसङ्ग हुन्थे तर रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरूमा रम्ने कोशिस गरिरहेका देखिन्थे ।गत अक्टोबर ७ को बिहानीपख दक्षिण इजरायलमा हमासले गरेको आक्रमण र त्यसपछि इजरायल र हमासबीचको युद्धलाई बिर्सने कोसिस गरिरहेका थिए । यसले नयाँ वर्षको पूर्वसन्ध्या मनाउन भेला भएका थुप्रै युवामा लडाईंको थकानलाई उजागर गरेकोजस्तो देखिन्थ्यो ।

२६ वर्षीय गेब्रियल जेमेलम्यानले रकेट प्रहारपछि स्थानीय बारअगाडि उभिएर भन्नुभयो, “हामी जता जाँदा पनि त्रासको अनुभुति गरिरहेका छौँ । मेरो मुटुको धड्कन बढिरहेको छ ।”उहाँले थप्नुभयो, “यो तपाईले कल्पना गरेकोजस्तो सामान्य जनजीवन होइन, यहीँ जन्मेको मलाई पनि डर लागिरहेको छ । जनजीवन अस्तव्यस्त बनेको छ ।”

हमासको सशस्त्र शाखा इज्जेदिन अल–कासम ब्रिगेडले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा इजरायलले गरेको ‘सर्वसाधारणको नरसंहारको प्रतिक्रियास्वरूप’ एम–९० रकेट प्रहार गरेको बताएको छ ।

इजरायली सेनाले आक्रमणको पुष्टि गरेको छ तर सुरुमा कुनै हताहत वा क्षतिको विवरण दिएको छैन ।गाजामा जारी युद्धका बावजुद तेल अभिभको सडकमा आइतबार राति सहभागीको भीड लागेको थियो ।१७ वर्षीया छात्रा गेलेरेन्टरले आफू सुरुमा बाहिर आउन ‘डराएकी’ तर अन्ततः सन् २०२४ को ‘नयाँ सुरुवात’ मनाउन साथीहरूसँग मिलेर काम गर्ने निर्णय गरेको बताउनुभयो ।

सङ्गीतकार बोअज बेट्सले स्टेजबाट भन्नुभयो, “म शान्तिको लागि प्रार्थना गर्दैछु, मानिसहरूले एकअर्कालाई घृणा गर्न बन्द गरून् र एक साथ आऊन् ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारको कडा आलोचना गर्दै उहाँले भन्नुभयो, “युद्धविराम अपरिहार्य छ । यो रोकिनुपर्छ । तर उनी (नेता)हरू मैदानमा लडिरहेका छैनन् ।”

इडो हर्भिट्ज नयाँ वर्षमा घण्टी बजाउन निजी पार्टीमा जानुअघि एक रेस्टुरेन्टमा डिनरका लागि आउनुभएको थियो । उहाँले भन्नुभयो, “हामीसँगै बस्न सिक्न सक्छौं किनकि हामीमध्ये अधिकांश शान्ति चाहन्छौं ।”हर्भिट्जले भन्नुभयो, “हाम्रो देश युद्धमा छ, तर हामीले हाम्रो जीवनलाई जारी राख्नुपर्छ, यो हाम्रो जित्ने तरिका हो ।”

उहाँसँगै २४ वर्षीया रिजर्भिस्ट शिर ताइतोउले पनि आफू बाहिर आउन चाहेको तर आफ्ना केही साथीहरू गाजामा परिचालन भएकोमा ‘दुःखी’ भएको बताउनुभएको थियो ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको रक्तपातपूर्ण आक्रमणका कारण करिब एक हजार १४० जनाको मृत्यु भएको इजरायलले पुष्टि गरेको छ । उक्त हमासका लडाकूहरूले करिब २५० जनालाई बन्धक बनाएका थिए, जसमध्ये अधिकांश गाजामै छन् ।

त्यसको प्रत्युत्तरमा इजरायलले गाजा पट्टीमा विनाशकारी आक्रमण सुरु गरेको थियो, जसले गाजाको विशाल क्षेत्रलाई उजाड भूमिमा परिणत गरेको छ र कम्तिमा २१ हजार ८२२ व्यक्तिको मृत्यु भएको र मारिनेमा अधिकांश महिला र बालबालिका रहेका हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तेल अभिभको एउटा बारको सामुन्ने मानिसहरू सडकमा नाच्दै थिए । उनीहरूले एउटा ठूलो साइनबोर्डमुनि ‘रिमिक्स’ गीत सङ्गीत बजाइरहेका थिए । साइनबोर्डमा अपहरित व्यक्तिलाई सङ्केत गर्दै लेखिएको थियो, “अब तिनीहरूलाई घर ल्याऊ!”