जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानको मध्य भागमा सोमबार ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) ले जनाएको छ ।इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे गएको भूकम्पपछि राष्ट्रिय प्रसारक एनएचकेले भनेको छ, “सबै बासिन्दालाई तत्काल उच्च स्थानमा स्थानान्तरण गर्न आवश्यक छ ।”

जापानको तटीय क्षेत्रमा केन्द्रबिन्दु रहेको ३०० किलोमिटरभित्र सुनामीको खतरनाक छाल आउन सक्ने हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ ।भूकम्पपछि इशिकावा प्रान्तको वाजिमा शहरमा १.२ मिटरको सामुद्रिक छालह आएको जापानी सञ्चारमाध्यम एनएचके ले जनाएको छ । जापानको मौसम विज्ञान निकाय (जेएमए) का अनुसार सोही क्षेत्रको नोटोमा पाँच मिटरभन्दा बढी सुनामी आउने अनुमान गरिएको छ ।

जेएमएका अनुसार जापानको मुख्य टापु होन्शुको सागरमा रहेको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ बजेर ६ मिनेटमा ५.७ म्याग्निच्यूडको भूकम्प गएको थियो ।त्यसपछि अपरान्ह ४ः१० मा ७.६ म्याग्निच्युड, ४ः१८ मा ६.१ म्याग्निच्युड, ४ः२३ मा ४.५ म्याग्निच्युड, ४ः२९ मिनेटमा ४.६ म्याग्निच्युड र ४ः३२ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसको केही समयपछि ६.२ म्याग्निच्युडको अर्को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।भूकम्पको सबैभन्दा ठूलो धक्कापछि जापानी सञ्चारमाध्यमले विशेष प्रशारण गरी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उच्च भूमिमा जानको लागि तत्काल आग्रह गरेका हुन् । “हामी तपाईंको घरको मायालाई बुझ्छौं, तपाईंको सामानहरू सबै तपाईंको लागि बहुमूल्य छन्, तर तपाईंको जीवन सबैभन्दा महत्वपूर्ण छ । सम्भव भएसम्म छिट्टै अग्लो जमिनमा पुग्नुहोस्,” एनएचकेमार्फत् प्रशारण गरिएको कार्यक्रममा प्रस्तोताले दर्शकहरूको सुरक्षाका लागि आग्रह गर्नुभयो ।

जापानमा भवनहरूले शक्तिशाली भूकम्प सहन सकून् भन्ने उद्देश्यले कडा निर्माण नियमहरू छन् र ठूलो झट्काको लागि तयारी गर्न नियमित रूपमा आपतकालीन अभ्यासहरू हुने गर्छन् ।
तर सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९.० म्याग्निच्यूडको भूकम्पका कारण आएको सुनामीका कारण करिब १८ हजार ५०० जनाको मृत्यु भएको थियो ।

सन् २०११ को सुनामीले फुकुशिमा आणविक केन्द्रमा तीनवटा रिएक्टरहरू पनि ध्वस्त पारेको थियो, जसले गर्दा जापानको युद्धपछिको सबैभन्दा खराब विपत्ति र चेर्नोबिलपछिको सबैभन्दा गम्भीर आणविक दुर्घटना भएको थियो ।सन् २०२२ को मार्चमा फुकुशिमाको तटीय क्षेत्रमा गएको ७.४ म्याग्निच्यूडको भूकम्पले पूर्वी जापानको ठूलो क्षेत्रमा धक्का महशुस गरिएको थियो ।राजधानी टोकियोलाई एक शताब्दीअघि सन् १९२३ मा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएको थियो ।