‘नेपालका खेललाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्‍याउनुपर्छ’ – ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालका खेल अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १५औँ स्थापना दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालका खेलाडीहरूले उत्कृष्ट क्षमता प्रदर्शन गर्ने क्रम बढेको बताउनुभयो । उहाँले नेपालका खेलाडीमा अन्तरराष्ट्रियस्तरको पदक हासिल गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै खेलाडीलाई प्रोत्साहन राज्यले प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले खेल क्षेत्रबाट देशको नाम चम्काउन खेलाडीको भूमिका महत्त्पूर्ण हुने बताउनुभयो । एकेडेमीले खेलाडीहरू उत्पादन र क्षमता विस्तार गर्न ठूलो भूमिका खेलेको बताउनुभयो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले देशभरि नै एकेडेमीले विभिन्न खेल खेलाउने तयारी गरेको जानकारी दिनुभयो ।

एकेडेमी र खेल क्षेत्रको विकासमा योगदान पुर्‍याउनुभएका विभिन्न व्यक्तिलाई सम्मान गरिनुका साथै एकेडेमीले बनाएको वृत्तचित्र सार्वजनिक गरिएको थियो ।