राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला

काठमाडौँ, १९ पुस : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताउनुभएको छ ।
सुनकोशी इन्द्रावती समाजद्वारा आज बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान एवं प्रमाणपत्र वितरण’ कार्यक्रममा उहाँले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोड दिनुभयो । “हामीले अहिले मुलुकमा १७ विश्वविद्यालय खोल्यौँ भनेर गर्व गछौँ तर उक्त विश्वविद्यालयमा विद्यार्थी छन् कि छैनन् भनेर सोच्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।

नयाँ सोच लिएर अगाडि बढ्न नसके सबै विश्वविद्यालय धरापमा पर्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँले त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मान्यता र गुणस्तरीय शिक्षा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले देशलाई विकास गर्दै मुलुकमा रोजगारी सिर्जना गर्नका लागि अहिलेको अवस्थामा समयसापेक्ष शिक्षा कस्तो बनाउने भन्ने कुरामा सरकारले विचार पुर्याउनुपर्ने बताउनुभयो । “के कुरामा विद्यार्थीको लगाव छ र राष्ट्रले के चाहेको छ सोहीअनुसारको शिक्षा प्रदान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेता डा कोइरालाले गत वर्षमात्र नेपालबाट विदेशमा अध्ययन गर्नका लागि एक लाख २७ हजार विद्यार्थी विभिन्न मुलुकमा गएको भन्दै तीनीहरूलाई नेपालमै बस्ने व्यवस्था मिलाउन नसकिएकामा चिन्ता व्यक्त गर्नुभयो । जिल्ला–जिल्लामा मेडिकल कलेज खोल्ने कुरा सम्भव नभएको उहाँको भनाइ थियो ।