कम्युनिष्टको एकता आजको आवश्यकता : महासचिव गुरुङ

रुकुमपश्चिम, १८ मङ्सिर : नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताउनुभएको छ । आज रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी रहेको बताउनुभयो ।

“पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ । सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ । माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ”, गुरुङले भन्नुभयो । जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको उहाँले बताउनुभयो ।

नेपालमा रहेका कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि ती कुरालाई मिलाउन सकिने महासचिव गुरुङले बताउनुभयो । “कम्युनिष्टमा अन्तर द्वन्द्व हुनु राम्रो होइन । यसले नेपालमा रहेका कम्युनिष्टलाई नै समस्या बनाउँछ । कुनै न कुनै समयमा हामी एक भएर काम गर्नु पर्छ”, उहाँले भन्नुभयो ।

अहिलेको गठनबन्धनको सरकार तीन वर्ष टिक्ने गुरुङले दाबी गर्नुभयो । “अहिलेको सरकार तीन वर्ष नै टिक्छ । यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन् । तर त्यो काम सफल हुन सक्दैन । यो सरकारलाई जनताले रुचाएका छन् । सरकारले पनि जनमुखि काम गर्दै आएको छ”, उहाँले भन्नुभयो । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा सबै लाग्न जरुरी रहेको उहाँको भनाइ थियो ।