निगमको जहाजमा प्राविधिक समस्या आएपछि जापान र दोहाको उडान प्रभावित

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएपछि जापान र दोहाको उडान तालिका परिवर्तन भएको छ । निगमले आइतबार राति वाइडबडी जहाजमा प्राविधिक समस्या आएपछि जापानको नारित र दोहाको उडान तालिका परिवर्तन गरेको हो ।

वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि अन्य उडानसमेत प्रभावित भएका छन् । हिजो रोकिएका यात्रुहरुलाई आज साँझ ७ः४५ बजेको उडानमार्फत गन्तव्य लैजाने तयारी गरिएको छ ।निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ । अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन् ।