धरहराको पुनर्निर्माण त्यतिबेलै सकिएको हो, बालेनलाई थाहा छैनः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले धरहरा पुनर्निर्माणको काम पहिले नै सकिएको दाबी गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पुनर्निर्माण सम्पन्न नहुँदै एमाले अध्यक्ष ओलीले धरहरा उद्घाटन गरेको बताएपछि महासचिव पोखरेलले परियोजनाको दूरदर्शीता नबुझ्नेले आलोचना गरेको बताएका हुन् ।

मेयर साहले सोमबार सामाजिक संजालमा लेखेका थिए, ‘२०७८ वैशाख ११ शनिबार अर्थात् आजभन्दा २ वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ’सेतो टावर’ उदघाटन भयो। सोही उद्घाटनलाई तत्कालीन मेयर विद्यासुन्दर शाक्यले ’आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे ।’

त्यसको जवाफमा महासचिव पोखरेलको भनाई आएको हो । महासचिव पोखरेलले भनेका छन्, ‘धरहरा पुननिर्माणको परियोजना अन्तरगत त्यसलाई नयाँ स्वरुपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको थियो । पहिलो पुरानो धरहराको बचेको भागलाई परदर्शी सिसाले छोपेर जस्ताको त्यस्तै संरक्षणगरी सुरक्षित राख्ने । दोश्रो त्यसको छेवैमा पुरानो स्वरुपमा तर नयाँ प्रविधिको प्रयोगरी सुरक्षित धरहराको निर्माण गर्ने । तेश्रो भूकम्पको वारेमा जानकारी गराउने हिसावले म्युजियमको निर्माण गर्ने । चौथो भित्रि सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौ अण्डर ग्राउण्ड पार्किङको माथिल्लो भागमा वगैचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने । त्यसका लागि गोस्वारा हुलाकसमेतको वरीपरीको सरकारी जमिन समेत प्रयोग गरिएको छ । तत्कालिक प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो । जसको निर्माणकार्य उतिबेलै सम्पन्न भइसकेको छ । अरु परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्ब भएको छ । तर निर्माण संझौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ । यो परियोजनाको दूरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वभाविक हो ।’

सहरी विकास मन्त्रालयले धरहरामा पार्किङ नगर्न काठमाडौं महानगरलाई पत्राचार गरेको थियो । त्यसपछि मेयर साहले दुई वर्षअघि उद्घाटन भइसकेको धरहरामा पार्किङ नगर्न पत्राचार आफूलाई नभई एमाले अध्यक्ष ओलीलाई गर्न भन्दै आक्रोस पोखेका थिए ।