पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा रघुजी पन्तको आपत्ति

काठमाडौं, ९ जेठ । प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा सन्दुक रुइतकोबारेमा लेखिएको आठ पृष्ठ जीवनी पढाइ हुन्छ । त्यो पाठ्यपुस्तकबाट हटाइयो र त्यसलाई भाँचेर कता कता ६, ८ को साइन्समा केमा केमा राखियो । डा सन्दुक रुइतको जीवनी, उहाँको कारण हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवन पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो, यसबारे शिक्षामन्त्रीले स्पष्ट जवाफ दिन आग्रह गर्छु,’ उनले भने ।साथै सांसद पन्तले पाठ्यक्रममा कुनै दलको आन्दोलनका बारेमा समावेश गर्न नहुने बताए ।