सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको अर्थमन्त्रीलाई ध्यानाकर्षण

सञ्चालकहरूले आफ्नो स्वामित्वमा भएको शेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा अर्थमन्त्री महतलाई आज ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यावहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको हो ।

धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत एवं सङ्गठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा ६ मा कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । कुनै पनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरले जनाएको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउनका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । बोर्डको निर्णयले व्यवसायीहरूलाई मर्कामा पार्ने अध्यक्ष मल्लको भनाइ छ ।

सञ्चालकले आफ्नो स्वामित्वमा भएको शेयरलाई पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी जुनसुकै समय बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले अग्रह गरेको हो । बोर्डले गरेको व्यवस्था भारतलगायत अन्य कुनै पनि राष्ट्रमा प्रचलनमा नरहेको अध्यक्ष मल्लको भनाइ छ ।

आफूसँग रहेको शेयरको कम्तीमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । चेम्बरको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री डा महतले चेम्बरले गराएको ध्यानाकर्षणप्रति आफू सकारात्मक रहेको बताउनुभयो ।