दैलेखमा एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपीआरविरुद्वको खोप लगाइँदै

दैलेख- दैलेखमा एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपीआरविरुद्वको खोप लगाइने भएको छ । भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले जिल्लाभरिका सबै बाख्रालाई निःशुल्क खोप लगाइने भएको हो ।

जिल्लाका करिब एक लाख १६ हजारभन्दा बढी भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइने पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर विष्टले बताउनुभयो । जिल्लाका ११ वटै स्थानीय तहमा उक्त सङ्ख्यामा पिपीआरविरुद्धको खोप लगाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा यो अभियानलाई दुल्लु नगरपालिका–१ बाट खोप अभियान सुरु गरिएको कार्यालय प्रमुख विष्टले बताउनुभयो । दैलेखका ११ वटै पालिकामा दुई लाख ५० हजार बाख्रा रहेको उहाँले जानकारी दिनुभयो ।उहाँले जिल्लामा पर्याप्त मात्रामा खोप नभए पनि करिब आधा सङ्ख्या एक लाख १६ हजार बाख्रालाई पिपीआर खोप, करिब ४० हजार बढी कुखुरालाई रानीखेत खोप र बङ्गुरलाई स्वाइन फिभर खोप लगाउने लक्ष्य तय गरिएकोे बताउनुभयो ।