छ महिनामा मात्रै तीन हजार ४५ लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ-: नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ ।चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेकामध्ये एक हजार नौ सय ६० मुद्दा दर्ता भएका छन् ।

अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज तयार गर्ने काठमाडौँ सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौँ दक्षिणकालीका शालोम सादा लेप्चा जैसी गाँजा, केक र कुकिजसहित पक्राउ परेका छन् । भारतीय नागरिक किम्रो साङ्गी अवैध लागुऔषध कोकिन एक किलो नौ सय ७३ ग्रामसहित पक्राउ परेका छन् । धादिङ कोइली खर्कका कान्छा तामाङ र भीमबहादुर तामाङ लागुऔषध चरेस २५ केजीसहित पक्राउ परेको प्रहरी तत्थ्याङ्कमा उल्लेख गरिएको छ ।

यसैगरी पक्राउ पर्नेमा मोहमद, शालोम, किम्रो, कान्छा र भीमबहादुर प्रतिनिधि पात्रमात्रै भएको प्रहरीको दाबी छ । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधिजस्ता लागुऔषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट गाँजा आठ हजार तीन सय तीन सय २० केजी, चरेस तीन सय आठ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन तीन केजी बरामद गरिएको प्रहरीको दाबी छ ।

यसैगरी डाइजेपाम २३ हजार पाँच एम्पुल, फेनारगन २७ हजार एक सय ३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार छ सय ७४ एम्पुल, लुपिजेसिक एक हजार चार सय १५ एम्पुल, नाइट्राभेट ६३ हजार पाँच सय ४७ ट्याबलेट, स्पास्मो ११ हजार ७२, कोरेक्स छ हजार पाँच सय ७१, एभिल सात सय ३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाइजिन चार हजार सात सय ६२, अन्य एम्पुल छ हजार चार सय ८२, अन्य ट्याबलेट एक हजार पाँच सय ५८ र आइस दुई ग्रामसमेत बरामद भएको छ ।

यस आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा मधेस प्रदेशबाट सबैभन्दा धेरै लागुऔषध गाँजा तीन हजार आठ सय ९१ केजी बरामद भएको छ । सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेस बरामद भएको छ । यसैगरी कोशी प्रदेशबाट पाँच केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम तथा लागुऔषध नियन्त्रण ब्यूरोबाट एक केजी कोकिन बरामद भएको छ ।

लागुऔषध दुव्र्यसन र अवैध कारोबारमा संलग्न भई पक्राउ पर्ने उनीहरूजस्तै अभियुक्तहरूको सूची लामो रहेको प्रवक्ता ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “गाँजा, चरेस, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थसमेतको अवैध कारोबारमा संलग्न अभियुक्त पक्राउ सङ्ख्या बढ्नुको प्रमुख कारण प्रहरी सक्रियता, प्रभावकारी अभियान र नागरिकसँगको सहकार्य हो ।”

लागुऔषधको प्रकोपबाट धेरै युवा कुलतमा फसेर आफ्नो ऊर्जाशील व्यक्तित्व ह्रास भइरहेको वर्तमान परिप्रेक्ष्यमा लागुऔषध नियन्त्रणमा नेपाल प्रहरीले व्यापकरूपमा कडाइ गर्न थालेको केन्द्रीय प्रहरी प्रवक्ता ढकालको दाबी छ । “यसको नियन्त्रणका लागि विद्यमान कानुनमा समयसापेक्ष परिमार्जनका साथै सरकारको एकल पहलमात्र नभई सबै क्षेत्रबाट पहलकदमी लिनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

लागुऔषध सेवनले सेवनकर्तालाई मात्र नभई परिवार, समाज र देशलाई नै प्रत्यक्ष प्रभाव पारिरहेको र कालान्तरमा यसले परिवार, समाज र देशलाई नै नकारात्मक असर पर्ने भएकाले राष्ट्रियरूपमा राज्यको सम्पत्ति अनुत्पादक क्षेत्रमा खर्च भई राष्ट्रलाई ठूलो नोक्सान हुने तथा ऊर्जाशील जनशक्ति गलत बाटोमा लाग्दा राष्ट्रलाई दूरगामी प्रभाव पारिरहेको प्रवक्ता ढकालको भनाइ छ । सामाजिक समस्याका रूपमा रहेको लागुऔषध नियन्त्रणमा पछिल्लो समय प्रहरी सक्रियताका कारण धेरै ठूलो सङ्ख्यामा अपराधी पक्राउ परेका हुन् ।