निर्यात वृद्धि नहुनु र मुद्रास्फिति बढ्नु नेपालको चुनौतीः आइएमएफ

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को भ्रमण टोलीले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको जनाएको छ ।
टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्षहरू सार्वजनिक गरेको छ । कोषका टिडाइन किण्डा नेतृत्वमा आएको भ्रमण टोलीले नेपालको विप्रेषण आय र पर्यटक बढ्दो भए पनि निर्यात वृद्धि नहुनु र मुद्रास्फिति बढ्नुले चुनौती देखिएको निचोड निकालेको छ ।

टोली प्रमुख किण्डाले सोमबार आयोजित पत्रकार सम्मेलनमा विदेशमा बसाइँसराइ रोकिनुपर्ने र राजस्व परिचालनका दायरा बढाउनुपर्नेमा जोड दिए । यसका साथै आसन्न लगानी सम्मेलनमा विद्यमान चुनौतीहरूका सम्भावनाहरूलाई पहिल्याएको उनको भनाइ थियो ।

टोलीले अर्थमन्त्री डा प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत अधिकारीसँग छलफल गरेको थियो । छलफलमा कोषका एसिया प्रशान्त क्षेत्रका उपनिर्देशक गुल्डे वल्फलगायत सहभागी भएका थिए ।