मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो । जनमतले साथ छोडेपनि प्रदेशसभामा यादवलाई बहुमत जुटाउन भने कठिन छैन । उनी जसपाबाट प्रदेश मुख्यमन्त्री चुनिएका हुन् । प्रदेशसभामा रहेका सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

यादवले मुख्यमन्त्री बनेपछि अहिलेसम्म आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।मधेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९–९ सांसद छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १÷१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन् ।