कांग्रेसको भोट घटेको छ, महासमितिमा गम्भीर छलफल हुनुपर्छ : डा कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निर्वाचनमा पार्टीको भोट घटेकोबारेमा महासमिति बैठकमा गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ ।
बिपी अध्ययन प्रतिष्ठानले महासमिति बैठकको पूर्वसन्ध्यामा आज यहाँ आयोजित ‘चियापान कार्यक्रम’मा उहाँले गठबन्धनका कारण निर्वाचनमा पार्टीको मत घटेको भन्दै महासमिति बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताउनुभयो ।

“कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी महासमिति बैठकमा गम्भीर रुपमा छलफल हुनुपर्छ,”– उहाँले भन्नुभयो । पार्टीको जनमत घटिरहेका बेला हामी सरकारमा बसेका छौँ भनेर खुशी हुने अवस्था नरहेको उहाँको कथन थियो । उहाँले निर्वाचन प्रणालीको सुधारका लागि पनि महासमिति बैठकमा छलफल हुनुपर्ने बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले युवाहरुलाई कांग्रेसभित्र आकर्षण गर्ने सङ्कल्प महासमिति बैठकले लिनुपर्ने बताउनुभयो । उहाँले महासमिति बैठकलाई पार्टी रुपान्तरणका निम्ति अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।अर्का नेता भुपेन्द्रजङ्ग शाहीले अबको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्नुभयो ।