सिपिएलको दोस्रो खेलमा पनि सन्दीपको राम्रो प्रदर्शन

काठमाडौं । सन्दीप लामिछाने लगातार उचाइमा पुगिरहेका छन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।
सन्दीपसँगै अन्य बलरको उत्कृष्ट प्रदर्शनले गर्दा सेन्ट केन्ट्स एन्ड नेभिस प्याट्रिओट्सले ट्रिन्बागो नाइट राइडर्सलाई ४२ रनले पराजित गरेको छ । सेन्ट केन्ट्सको यो पहिलो जित हो ।
सन्दीपले आइतबार विहान सकिएको खेलमा सेन्ट केन्ट्स एन्ड नेभिस प्याट्रिओट्सका लागि १ विकेट लिन सफल भए । उनले ३ ओभर बलिङ गर्दा सन्दीपले १७ रन खर्चिए भने १ मेडन राख्न सफल भएका थिए । उनले ट्रिन्बागोका ओपनर क्रिस लियोनलाई ६ रनमा बोल्ड गरेका थिए । चौथो ओभरमा बलिङ पाएका उनले सो ओभर मेडन दिएका थिए।

आठौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका उनले ३ रन मात्र दिए । उनले ड्वायन ब्राभो र दिनेश रामदिनलाई बलिङ गर्दा दुवैले बाउन्ड्री प्रहार गर्न सकेनन् ।

अन्तिम ओभर पनि बलिङ गरेका सन्दीपले यो ओभर भने १४ रन दिए । अन्तिम ओभरको पाँचौ बलमा विकेटको अवसर भएपनि ट्रिन्बागोका केभोन कुपरले हावामा उडाएको बल डेभकिकले क्याच गर्न असफल भएक थिए ।
खेलमा सन्दीपको सेन्ट केन्ट्सले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २ सय ३ रन जोड्यो । उसका लागि डेभोन थोमसले ३४ बलमा ५८ रन, कार्लोस बाथवेटले १५ बलमा ४१ रन र कप्तान क्रिस गेलले ३० रन दिए । बलिङमा ट्रिन्बागोका अदिल खानले ३ र सुनील नारिनले २ विकेट लिएका थिए ।
२ सय ४ रन पछ्याएको ट्रिन्बागोले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सफल भयो ।