ताप्लेजुङ गोल्डकपमा ७३ लाख बढी आय, टिकट बिक्रीबाट मात्र १८ लाख

ताप्लेजुङ-ताप्लेजुङमा केही दिनअघि सम्पन्न ताप्लेजुङ गोल्डकप प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । गत भदौ १४ देखि २० गतेसम्म सदरमुकाम फुङलिङमा आयोजना भएको उक्त प्रतियोगिताको आय–व्यय आज सार्वजनिक गरिएको हो ।

आय–व्यय प्रस्तुत कार्यक्रममा जनाइए अनुसार प्रतियोगितामा रु ७३ लाख २४ हजार सात सय ८५ आय देखिएको छ । टिकट बिक्री, प्रतियोगिताका लागि विभिन्न व्यक्ति र सङ्घसंस्थाको सहयोगबाट उक्त रकम सङ्कलन भएको हो । खेलको टिकट बिक्रीबाट मात्र रु १८ लाख ७६ हजार छ सय आम्दानी भएको लाखेजात्रा खेल सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा करिब रु २३ लाख बढीको आम्दानी भएको छ । आयोजकका अनुसार केही रकम भने उठ्न बाँकी छ ।प्रतियोगिता सम्पन्न गर्न रु ४९ लाख ८७ हजार एक सय ३७ खर्च भएको जनाइएको छ । सबैभन्दा धेरै खर्च खेलमैदानको स्तरोन्नतिमा भएको छ ।

खेलमैदान स्तरोन्नतिमा रु आठ लाख बढी खर्च भएको छ । प्रतियोगिता सम्पन्न गर्न जिल्लाका विभिन्न स्थानीय तहले समेत सहयोग गरेका छन् ।प्रतियोगिता सम्पन्न गरेर बचत भएको रकम मुद्धतिमा राख्ने आयोजकले निर्णय गरेको छ । सबैको साथ र सहयोगले छोटो अवधिको तयारीमा सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सफल भएको भन्दै आयोजकका अध्यक्ष देवराज गुरुङले सहयोगी सबैप्रति आभारसहित धन्यवाद व्यक्त गर्नुभएको छ । यसपटकको प्रतियोगिता व्यवस्थित भएको जिल्लावासीले बताएका छन् ।