तेस्रो मनहर्वा गोल्डकपको उपाधि वीरगञ्ज युनाइटेडलाई

बारा- वीरगञ्ज युनाइटेड क्लबले तेस्रो मनहर्वा गोल्डकपको उपाधि हात पारेको छ । जीतपुरसिमरा–१८ स्थित मौवादेवी खेलमैदानमा सनिबार भएको फाइनल खेलमा रिगल हेटौँडा रिसोर्टलाई २-० ले पराजित गर्दै वीरगञ्जले उपाधि हात पारेको हो ।

वीरगञ्जको जीतमा विशाल खड्का र अमर डङ्गोलले समान एक–एक गोल गरे । विशालको गोलबाट खेलको ३५औँ मिनेटमा अग्रता लिएको वीरगञ्जका लागि अमरले ८८औँ मिनेटमा दोस्रो गोल गरेका थिए । हेटौँडा उपविजेतामा चित्त बुझाएको छ ।

उपाधि विजेताले वीरगञ्जले रु दुई लाख नगद हात पारेको छ भने उपविजेता हेटौँडाले रु एक लाख प्राप्त गरेको छ । विधागत पुरस्कारतर्फ वीरगञ्जले वर्चस्व कायम गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वीरगञ्जका अमर डङ्गोल घोषित भए । अमरले सर्वाधिक गोलकर्ताको पुरस्कारसमेत हात पारे ।

यसैगरी उत्कृष्ट गोलरक्षक वीरगञ्जका दिलमणि चौधरी, उत्कृष्ट डिफेन्स विकास चौधरी, उत्कृष्ट प्रशिक्षक राजकिशोर धामीले प्राप्त गर्दा हेटौँडाका सुजल गुरुङले उत्कृष्ट मिडफिल्डरको पुरस्कार पाएका छन् । प्रतियोगिताको उदयीमान खेलाडी आयोजक मौवादेवी युवा क्लबका शिवकुमार सुवाल घोषित भए । यसैगरी प्रतियोगिताको फेयर प्लेको उपाधि आयोजक मौवादेवी युवा क्लबले प्राप्त गरेको छ । फाइनल खेलको प्लेयर अफ दी म्याच वीरगञ्जका सागर चौधरी घोषित भए ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, वडा नं १८ का अध्यक्ष चतुरबाबु वाग्ले, वडा नं १४ की अध्यक्ष चयन गुरुङ, क्लबका अध्यक्ष निर्मल यादव, पूर्वअध्यक्ष वसन्त खतिवडालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यही माघ १३ गतेदेखि सुरु प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

तेस्रो मनहर्वा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै जीतपुरसिमराका उपमहानगरपालिकाका प्रमुख पौडेलले खेलकुदको विकासका लागि विद्यालय तहमै लगानी गर्नुपर्ने बताउनुभएको छ । खेलकुद क्षेत्रमा अहिले करोडौँ लगानी भए पनि प्रतिफल सन्तोषजनक हुन नसकेको भन्दै नगरप्रमुख पौडेलले विद्यालय तहमा हुने लगानीले खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो ।

नगरप्रमुख पौडेलले उपमहानगरपालिकाको कार्यालयले हाल रु दुई करोड ५४ लाख खेलकुद क्षेत्रमा लगानी भइरहेको जानकारी दिनुभयो ।