‘विप्लव’ बन्दको प्रभाव सामान्य, कयौं स्थानमा बम भेटिए

काठमाडौं । बन्दले देशभरको जनजीवनमा सामान्य प्रभाव परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको आजको बन्दको प्रभाव मुलुकभर सामान्य देखिएको छ। उपत्यकाका तीन वटौ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर सँगै देशभरका सवारीसाधनहरु भने सामान्यतया सञ्चालनमा रहेका छन्। बजार तथा पसलहरु समेत खुल्ला रहेको छ ।
बन्दको कारण कतिपय विद्यालय तथा क्याम्पसहरुको बिहानी सत्रको कक्षामा भने प्रभाव पारेको थियो । बन्दका कारण कतिपय स्कूल तथा क्याम्पस भने सञ्चालन भएनन् । काठमाडौंबाट देशका विभिन्न स्थानका लागि छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन समेत नियमित जस्तै सञ्चालन मै रहेको महानगरीय प्रहरी महाशाखाले जनाएको छ।

यता, बन्दको घोषणा गरिएकै दिनमा केही स्थानहरुमा बम तथा शंकाष्पद बस्तु फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले भक्तपुरको लोकन्थली र सूर्यविनायकमा भेटिएको प्रेसर कुकर बमलाई निष्क्रिय पारेको छ। काठमाडौंको सतुंगल तथा रौतहटको चन्द्रपुर–५, बाजुराको बडिमालिका नगरपालिकाको मुलगेटस्थित पूर्वपश्चिम राजमार्गमा भेटिएका शंकास्पद वस्तुलाई पनि डिस्पोज गर्ने प्रयास भएको छ ।

यस्ता विभिन्न स्थानहरुमा भेटिएका शंकास्पद बस्तु तथा बमहरु विप्लवकै कार्यकर्ताले राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।