सडकमा सुतेर आन्दोलन थाले राहत शिक्षकहरूले

काठमाडौा । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्न थालेका छन् । ४० हजारको संख्यामा रहेका राहत शिक्षकहरू ठूलो संख्यामा काठमाडौँ पुगे लगत्तै उनीहरु सडकमै लम्पसार सुतेर आन्दोलन गर्न थालेका छन् । आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन सुरु गरे लगत्तै उनीहरुले सरकार र सरोकारवालको ध्यानाकर्षण गराउन खोजीरहेका छन् ।

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन्।

राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह(अध्यक्ष नबिनसिंह धामीले आज सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको बताए।

‘दिउँसो १२ बजे हामी सडकमा आधा घण्टा लम्पसार लाश बनेर पल्टिन्छौँ। सांकेतिक रूपमा हामीलाई मार्यो भनेर हामी सडकमा सुत्छौँ। माइतीघर बानेश्वर सडक खण्डमा हामी पल्टिन्छौँ।’ उनले भने।