दोल्ती पावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, ३ वैशाख । दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि चैत २८ गते आईपीओ निष्कासन गरेको थियो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसअनुसार दोल्तीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यसमध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा एनआईसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरलाई ‘इक्रा एनपी इस्यूअर डबल बी’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत जनाउँछ ।