मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

कर्णाली-कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।कर्णाली प्रदेश खेलकुद विकास परिषद्द्वारा आज सुर्खेतमा आयोजित १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले कर्णाली खेल क्षेत्रको समेत उर्वरभूमि भएको बताउनुभयो । “कर्णालीले गिनिज बुक अफ वल्र्ड रेकर्ड्स नेपालको नाम चिनाउने हरिबहादुर रोकायजस्ता ख्याती प्राप्त म्याराथुन धावक जन्माएको छ”, उहाँले भन्नुभयो, “उहाँको प्रेरणाले पछिल्लो समयमा खेल क्षेत्रमा प्रगति भइरहेको छ ।”

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने गरी प्रदेश सरकारले गौरवको आयोजना रङ्गशाला निर्माणको कार्यलाई तदरुकताका साथ अगाडि बढाएको मुख्यमन्त्री शर्माले बताउनुभयो । ‘कर्णाली दौडिन्छ’ भन्ने मूल नारा बोकेर अगाडि बढेको प्रदेश सरकारले खेल क्षेत्रको विकास र खेलाडीको बृहत्तर हितमा काम गर्ने उहाँको भनाइ थियो ।

नेपाली काँगे्रस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भूगोल, हावापानी र आर्थिक विपन्नताबाट गुज्रिएको कर्णालीले पछिल्लो समयमा खेल क्षेत्रमा उल्लेख्य विकास गरेको बताउनुभयो । सबै सरकारहरुले विभिन्न विधालाई प्राथमिकता दिएर भूगोल र आवश्यकताका आधारमा योजना निर्माण गरी बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले व्यक्तिभित्रको क्षमतालाई प्रस्फुटन गर्न कर्णालीमा पूर्वाधारको अभाव भएको जनाउनुभयो । यति हुँदाहुँदै पनि कर्णालीले आफ्नो पहिचान र श्रेष्ठ कायम गर्दै आएको उहाँको भनाइ थियो । नेता कँडेलले खेललाई व्यवस्थित र विकास गर्दै लैजान कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्काले मानव जीवनको स्वास्थ्य र समृद्ध राष्ट्रका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धाराणा व्यक्त गर्नुभयो । स्वस्थ नागरिक निर्माण र राष्ट्रको गौरव बढाउन खेलाडी र युवाको प्रधान भूमिकालाई विशेष महत्वका साथ हेरिनुपर्ने उहाँको भनाइ थियो ।

कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोदजङ्ग हमालले कर्णालीको खेल क्षेत्रको विकासका लागि विभागीय मन्त्रालयको सचिव कर्णालीकै हुनुपर्नेमा जोड दिनुभयो । बाहिरबाट आउनेले कर्णाली नबुझिदिनाले यसका लागि चाहिने आवश्यक बजेट विनियोजनमा समस्या भएको उहाँको गुनासो थियो ।

खेलमा कीर्तिमानी धावक रोकायले ओलम्पिक टर्च बालेर मार्च पास गर्नुभयो । उक्त विभिन्न विधामा सञ्चालन हुने राष्ट्रपति रनिङ् शिल्ड छनोट प्रतियोगितामा हुम्लाबाहेक नौ जिल्लाका खेलाडी र प्रशिक्षक गरेर सात सय ८४ भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । आजबाट सञ्चालन भएको सो प्रतियोगिता यही वैशाख ५ गते सम्पन्न हुनेछ ।

प्रतियोगितको पहिलो दिन नौ जिल्लाका खेलाडीहरुको मार्चपास, सांस्कृतिक झाँकी, हुड्के नृत्य, सुर्खेती झ्याउरे तथा टप्पा नाचसहित मार्सल आर्टका विभिन्न विधाका खेल प्रर्दशन गरिएको थियो ।