निर्वाचनमा उम्मेदवारभन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्छ : महासचिव पोखरेल

लुम्बिनी-नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचनमा उम्मेदवारले नभएर पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्ने उल्लेख गर्नुभयो ।

एमाले लुम्बिनी प्रदेशको ‘मिसन ग्रासरुट’ समीक्षा बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउन जनमत वृद्वि गर्नुपर्नेमा जोड दिनुभयो । “चुनावमा जित्ने मात्र खोज्ने नीति, विचार नबुझेको मान्छे खोज्ने हो भने पार्टी सङ्गठनलाई बलियो बनाउन र स्थायित्व दिन सकिँदैन”, उहाँले भन्नुभयो, “अबको चुनाव पार्टीको नेतृत्वमा जनताबीच भिजेका, विचार राम्रोसँग बुझेका र परिवर्तनमा योगदान दिएका व्यक्तिलाई उम्मेदवार बनाउँछौँ ।”

महासचिव पोखरेलले निर्वाचनमा पैसावाला प्रवृत्ति हाबी हुँदै गएको उल्लेख गर्दै यसलाई रोक्नुपर्ने बताउनुभयो । पैसावालाले मात्रै चुनाव जित्ने भनेर टिकट दिने प्रवृत्तिलाई फेर्नुपर्ने उहाँको भनाइ थियो । महासचिव पोखरेलले राजनीतिक अस्थिरता सिर्जना गर्न बलिया, पुराना राजनीतिक दल निर्माण हुन नदिने र कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनुभयो ।

“एमालेका हरेक नेता तथा कार्यकर्ताले जनताको सरोकारमा ध्यान पु¥याउन आवश्यक छ”, उहाँले भन्नुभयो– “जनताको चासोमा ध्यान दिन नसके उनीहरुसँगको सम्बन्ध टुट्छ ।”