काठमाडौमा हुने पाल्पाली महोत्सवमा पाल्पाली परिकार चुकाउनी निःशुल्क खुवाइने

काठमाडौमा शनिबार पाल्पाली महोत्सव हुने, कलाकारहरुले भव्य प्रस्तुती गर्ने

काठमाडौँ, ७ वैशाख । पाल्पाली संगमले आगामी शनिबार काठमाडौँमा आयोजना गरेको पाल्पा महोत्सवमा पाल्पाली परिकार चुकाउनी निःशुल्क खुवाउने भएको छ । लुम्बिनी तन्दुरी व्यवसायी संघले महोत्सवमा आएकाहरुलाई स्वागत स्वरुप चुकाउनी चखाउने प्रस्ताव गरेको संगमका अध्यक्ष विष्णु बहादुर खत्रीले जानकारी दिए । दही र आलुबाट बनाईने परिकारलाई पाल्पाली परिकार मानिन्छ । महोत्सवमा पाल्पाली ढाका, करुवा, कफि, बटुक लगायतका पाल्पाली उत्पादन तथा परिकारहरु पनि विक्रि वितरण गरिने उनले बताए ।

आगामी वैशाख ९ गते शनिबार राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा हुने महोत्सवको तयारी पुरा भएको काठमाडौमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष खत्रीले जानकारी दिए । महोत्सवमा नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, धिरेन शाक्य लगायतका झण्डै २० पाल्पाली कलाकारहरुको विषेश प्रस्तुती रहने संगमका महासचिव जीवन भण्डारीले बताए । उनका अनुसार महोत्सवमा कौरा, सोरठी, ख्याली र चुट्का नृत्यसहित प्रत्यक्ष दोहोरी कार्यक्रम पनि हुनेछ ।

पाल्पाको विकासका लागि विषयगत सम्वाद, रणनीतिक छलफल, महोत्सव, उत्पादन प्रवद्र्धन, खाना, कला, सँस्कृति प्रवद्र्धन, ऐतिहासिक, पुरातात्विक तथा धार्मिक क्षेत्रहरुको प्रचार प्रसार तथा मानवीय सहयोग लगायतका कामहरु पाल्पाली संगमको नेतृत्व र सहजीकरणमा हुँदै आएको छ । पाल्पाबाट काठमाडौँ आई बसोबास गरिरहेका पाल्पालीहरु अनौपचारिक रुपमा वि.स. २०३२ सालदेखि संगठित भएपनि अनौपचारिक रुपमा पाल्पाली संगमको दर्ता २०४८ साल वैशाख ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको हो ।

संगमले स्थापनाकालदेखि देश विदेशमा रहेका पाल्पालीहरुलाई अपनत्व, अविभावकत्व, भावनात्मक र आर्थिक तथा भौतिक सहयोग गर्दै आएको अध्यक्ष खत्रीले जानकारी दिए । संगमले विभिन्न अक्षयकोष मार्फत हरेक बर्ष प्रोत्साहन तथा राहत सहयोग समेत दिने गरेको छ । पाल्पाली संगमले संस्थाको स्थापना दिवसको अवसरमा आयोजना गरेको महोत्सवबाट पाल्पाली कला, सँस्कृति, पुरातत्व, खाना तथा उत्पादनहरुको प्रवद्र्धन हुने विश्वास लिएको छ ।

महोत्सवस्थलमा पाल्पाका १० वटै स्थानीय तहको फोटो प्रदर्शनी, भिडियो, तथा पुस्तकहरुको प्रदर्शन, विक्रि र वितरण गरिने व्यवस्था मिलाईएको छ ।
संगमले निल्शुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण र रक्तदान कार्यक्रम पनि पाल्पा महोत्सव स्थलमा गर्न लागेको छ ।महोत्सवमा पाल्पालीसँगै पाल्पाभन्दा वाहिरि जिल्लाका बासिन्दालाई विषेश आमन्त्रण गरिएको र उनीहरुका लागि बढी रुचीकरण र रमाइलो हुनसक्ने आयोजकहरुको विश्वास छ ।

“पाल्पालीहरु विच भेटघाटका साथै अन्य जिल्लावासीलाई पाल्पा चिनाउने र पाल्पा पठाउने उद्देश्य पनि महोत्सवले राखेको छ, महासचिव भण्डारीले भने ।
महोत्सवको उद्घाटन नेपाल सरकारका सँस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट हुने र धेरै विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहने तय भएको छ । एक दिने महोत्सव विहान १० बजेदेखी बेलुकी ७ बजे सम्म चल्ने छ । झण्डै १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवको सबै तयारी पुरा भएको संगमका अध्यक्ष खत्रीले जानकारी दिए ।