सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ-नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पर्नुभएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरेसँगै आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । हाल पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँ गृह मन्त्रालयको सचिव हुनुहुन्थ्यो । पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।