जोखिममा रहेको अरुण तेस्रोको बाँध निर्माणस्थल अनुगमन

खाँदबारी-जिल्ला विपद् व्यवस्थापन समितिले सङ्खुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पहिरो खसेर बनेको तालको स्थलगत अनुगमन गरेको छ । निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थलको बाँध निर्माणस्थलमा गत आइतबार पहिरो खसेपछि झन्डै तीन किलोमिटर ताल बनेको छ । अरुणमा पानीको बहाव बढेको र तालको पानी नघटेपछि जोखिम बढेको गुनासो स्थानीयवासीले गरेपछि विपद् व्यवस्थापन समितिले अनुगमन गरेको हो ।

अरुण तेस्रो आयोजनाले अरुणमा २६ मिटर अग्लो अस्याथी बाँध बनाएर खोला फर्काएको थियो । अरुण थुनिएपछि अरुण तेस्रोमा बाँध निर्माणस्थलको काम ठप्प भएको छ । अझै पनि सुक्खा पहिरो ५० मिटर माथिबाट लगातार खसिरहेको प्रहरीले जनाएको छ । टोलीमा सेनाको पूर्वीपृतनापति उपरथी आशबहादुर तामाड र २ नं बाहिनी हिलेका बाहिनीपति सहायक रथी महेशकुमार थापाको पनि सहभागिता थियो । बाँध निर्माणस्थलमा भारतीय कम्पनी जयप्रकाश एशोसिएट्स लिमिटेडले बाँध बनाउने काम गरिरहेको छ ।