चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’ दुई भागमा बन्ने

काठमाडौँ-नेपाली चलचित्रसमेत दुईभागमा बन्ने भएको छ । बलिउड र हलिउडले यस्तो शैलीमा बनाएका चलचित्रले सफलता पाएपछि नेपालमा सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’ दुई भागमा तयार गरिने भएको छ ।

निर्देशक चौधरीले दुवै भागको कथालाई तयार गरेर छायाङ्कनको तयारी गरिएको जानकारी दिनुभयो । “हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरेको छु । दुई भागमा तयार गर्ने योजनासहित सुरु गर्दैछौँ”, निर्देशक चौधरीले भन्नुभयो । उहाँले कथा लेखनकै क्रममा एक भागमा नसकिने भएपछि दुई भागलाई नै तयार गरिने योजना बनेको जानकारी दिनुभयो ।

यद्यपि अहिले दोस्रो भागको केही दृश्य मात्र खिच्ने उहाँको योजना छ । निर्देशक चौधरीले भन्नुभयो, “दुई भागमा मात्र कथा सकिने छ । भारतको गोरखपुरबाट यसको छायाङ्कन प्रारम्भ गर्दैछौँ ।” भारतको गोरखपुर र वनारसमा छायाङ्कन सकिएपछि नेपालमा काठमाडौँ र नवलपरासीमा छायाङ्कन हुने तालिका निर्धारण गरिएको छ । चलचित्रमा कलाकार सौगात मल्ल, मलिका महत, प्रमोद अग्रहरी, रवीन्द्र झा र विजय बरालको अभिनय रहनेछ ।