सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौ,  ४ जेठ ।  सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ८.३० बजे सिटी होटल छिन्नताला चोक, सोल्टीमोड काठमाडौंमा तयारी गरिएको छ । यता, सिटीहोटलको आइपीओमा मागभन्दा ९.४३ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यसमा ११ लाख ६१ हजार २८० जनाले कुल १ करोड २७ लाख ८८ हजार ९९० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख ३५ हजार ५९४ जनाले मात्र सेयर हात पार्नेछन् । १० लाख २५ हजार ६८६ जनाको भने हात खाली हुनेछ ।

होटलले वैशाख २५ गतेदेखि २८ गतेसम्म आईपीओ निष्कासन खुला गरेको थियो । यस होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले पब्लिकका लागि छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमाध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ ।

यस्तै, ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिने ब्यवस्था थियो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

रेटिङ रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आईपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ चैत २२ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ आगामी २०८० चैत २३ गतेसम्म बाहल रहनेछ ।