अनलाइनको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री दाहालको विश्वास

लन्डन, ८ जेठ । विदेशमा रहेका नेपाली समुदायको हित तथा ताजा सूचना, मनोरञ्जनात्मक र खेलकुदलगायत समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण विश्वास प्रधानमन्त्री पुष्पकमल दाहालले लिएका छन् ।

नेपाल ब्रिटेन डटकमको १६ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘हरेक विधामा निष्पक्ष रुपमा निर्धक्क भएर यथार्थ समाचार ल्याउन अनलाइन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने विश्वास लिएको छु ।’

शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘बेलायतबाट प्रकाशन भैरहेको नेपालब्रिटेन डट कमले  १६ औं वसन्त पार गरेको खबर सुन्दा खुशी लागेको छ । सूचना तथा प्रविधिको विकासले गर्दा सारा संसार विश्व ग्राम (ग्लोबल भिलेज) मा परिवर्तन भै रहेका बेला मानव जातिका सामु उपस्थित प्रमुख चुनौतीहरुबारे जनचेतना जगाउन र ति सँग जुध्न सामूहिक प्रयत्नलाई बढावा दिन पनि संचार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ ।  विदेशमा रहेका संचार माध्यमहरुले त नेपाल र बाह्य विश्वलाई आपसमा जोड्ने सेतुको काम गरिरहेका छन् ।’

विकसित देशहरुमा अनलाइन मिडिया तथा सामाजिक संजाल मानव समुदायका लागि आधारभूत आवश्यकताको वस्तु नै भैसकेको  उल्लेख गर्दै नेपालजस्ता विकासोन्मुख देशहरुमा पनि यसको लोकप्रियतामा बढ्दै  जानुका साथै जनतामा यसको पहुँचमा पनि वृद्धि हुँदै गएको प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ ।