अभिनेता सरोज खनालको ‘बगान’ प्रदर्शनको तयारीमा

काठमाडौँ-अभिनेता सरोज खनालले आफ्नो कलाकारिताबाट सङ्गालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गर्नुभएको छ । उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘बगान’ आगामी असार २९ गते प्रदर्शन हुने तय भएको छ ।

अभिनेता तथा निर्देशक खनालले भन्नुभयो– “कलाकारिताको अनुभवलाई निर्देशनमा उपयोग गरेको छु । यो हाम्रो समाजको र हामीले भन्नुपर्ने एउटा कथा हो ।” यो पूर्ण पारिवारिक चलचित्र भएको उहाँको भनाइ छ । उक्त चलचित्रले समाज र परिवारलाई एकापसमा जोड्ने खनाल बताउनुहुन्छ ।

चलचित्रमा निर्देशक खनालसँगै नीर शाह, वसुन्धरा भुसाल, करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायत कलाकारले अभिनय गर्नुभएको छ । एकल महिलाको वेदना, छटपटी र खुसीको चाहनालाई प्रस्तुत गरिएको उक्त चलचित्रलाई गीतकार सुरेश वाग्लेले निर्माण गर्नुभएको हो । यसको वितरक करण श्रेष्ठ हुनुहुन्छ ।“बगान जस्ता चलचित्रलाई निर्माताबाट प्रदर्शकसम्म पु¥याउन पाउँदा खुसी लाग्छ”, उहाँले भन्नुभयो ।