गोर्खा वारियर्स’को प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने

काठमाडौं, ६ असार । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा हुने चलचित्र ‘गोर्खा वारियर्स’को विशेष प्रदर्शनीमा निर्माता तथा निर्देशक मिलन चाम्सले धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई साम्पाङ सहभागी हुने जानकारी दिए । आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको जानकारी दिए ।

बुधबार निर्देशक चाम्स धरान पुगेर प्रमुख राईलाई निम्तो दिएपछि प्रमुख साम्पाङले सहभागी हुने सहमति दिए । ‘गोर्खालीको गौरव गाथा समेटिएको चलचित्रको विशेष प्रदर्शनीमा सहभागी हुन् पाउँदा म उत्साहित छु । आफ्नो अभियानलाई साथ दिने बेलायतवासी नेपालीलाई भेटेर धन्यवाद दिन चाहेको प्रमुख राईले बताए’, निर्देशक चाम्सले भने । 

 

हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी भइसकेको जानकारी दिए । 

 

निर्देशक चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारी दिए । युद्धको कथामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ ।

 

नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्सले, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।